चुनाव हुन्छ भन्ने अझै विश्वास छैन : खरेल

अग्नी खरेलले भने - 'दलसँग वार्ता गर्दिनँ भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शीर्ष नेताहरूसँग म बस्दिनँ, किन बस्दिनँ ?'

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Still not confident that elections will be held: Kharel

What you should know

काठमाडौँ — एमालेका नेता एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकारले नसकेको तर वातावरण बनेमा एमाले निर्वाचनबाट नभाग्ने बताए । 

नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको 'प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर' विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा खरेलले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको बताएका हुन् ।

निर्वाचनको मुख्य सरोकारवाला रहेका राजनीतिक दलका नेताहरूलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको खरेलले बताए । 'निर्वाचनमय वातावरण बनेको छ कि छैन ? या बनाइँदै छ कि छैन ? चुनाव गर्नुस्, हामी भाग लिन्छौं तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो,' खरेलले भने, 'दलसँग वार्ता गर्दिनँ भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शीर्ष नेताहरूसँग म बस्दिनँ, किन बस्दिनँ ?'

सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने अहिलेकै राजनीतिक दलका नेता नै रहेको खरेलले स्मरण गराए ।

वर्तमान समयमा प्रहरी सुरक्षाकर्मीको मनोबल नबढेको बताउँदै निर्वाचन हुनेमा आशंका रहेको बताए । ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भइरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने ? निर्वाचनमय वातावरण बन्नुपर्छ होला नि त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरू आएर फरर आएर भनेर मात्रै हुन्छ ?,' उनले भने ।

राजनितिक दलहरूसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै संविधानसभा निर्वाचन गर्न सफल भएको पनि खरेलले बताए । 

कान्तिपुर

Link copied successfully