सरकारले नेताको नाम तोकेर छलफलमा बोलाएको होइन : मन्त्री सिन्हा

प्रधानमन्त्री कार्कीले बोलाएको निर्वाचनसम्बन्धी छलफलमा राजनीतिक दलबाट दोस्रो तहबाट नेताहरू सहभागी भएको मन्त्री सिन्हाको भनाइ छ । निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल भइराखेको उनले जानकारी दिए ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

The government did not invite leaders for discussions by naming them: Minister Sinha

What you should know

काठमाडौँ — सरकारले निर्वाचनको वातावरण बनाउनका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्बन्धमा छलफल गर्नका लागि नेताहरूलाई बोलाएको र सोही आह्वानअनुसार दलका जिम्मेवार नेताहरू सहभागी भएको पनि मन्त्री सिन्हाको भनाइ छ ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले चुनावका सम्बन्धमा छलफल गर्नका लागि प्रधानमन्त्रीले राजनीतिक दलका नेताहरूलाई बोलाएको र कुनै पनि नाम तोकेर त्यस्तो आमन्त्रण नभएको बताए ।

एमालेका नेता अग्नि खरेलले राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीले छलफल गर्न अनिच्छा देखाएको भन्ने अभिव्यक्ति दिएपछि मन्त्री सिन्हाले वास्तविकता त्यस्तो नभएको बताएका हुन् । 'राष्ट्रिय नेताहरू हुनुहुन्छ । म सबै दलको राष्ट्रिय नेताहरूलाई अनुरोध गर्दछु । छलफलको निमित्त व्यक्ति या नेता तोकेर कहिले बोलाएको होइन, हामीले पटक-पटक दलका नेताहरूलाई हामीले बोलाएका हौं,' सिन्हाले भने, 'दलबाट आउनु भएको जिम्मेवार नेताहरू पटक-पटक आउनु भएको छ । त्यहाँ भित्रका विभिन्न पुस्ताका नेता आउनुभएको छ ।'

मन्त्री सिन्हाले दलका अध्यक्ष तथा सभापतिहरू भने सहभागी नभएको बताए । दोस्रो तहका नेताहरू प्रधानमन्त्रीले बोलाएको छलफलमा आएको सिन्हाले जानकारी दिए । 'सबैभन्दा माथिल्लो तहको बाहेक उहाँहरू भन्दा मुनिको तहका नेताहरू आउनुभएको अवस्था छ । दलहरूसँग छलफल भइराखेको छ । एउटा तहमा छलफल भएको छ । व्यक्तिगत रुपमा छलफल भइराखेको छ,' उनले भने । 

सरकारले निर्वाचनको वातावरण बनाउनका लागि पहल गरिराखेको पनि मन्त्री सिन्हाको भनाइ थियो । मुलुकलाई निर्वाचनमार्फत अहिलेको अवस्थाबाट अगाडि बढाउनुपर्ने उनले बताए । 

त्यस्तै, मन्त्री सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका थिए । आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताए । 

कान्तिपुर

Link copied successfully