प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट नेपाली, अंग्रेजी, नेपाल भाषा र मैथिली भाषामा पोस्ट गर्न थालिएको छ
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यप्रगति विवरणलाई नागरिक स्तरमा राम्रोसँग पुगोस् भनेर नेपाली र अंग्रेजीसहित अन्य भाषामा पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री कार्कीको आधिकारिक एक्स (पहिलेको ट्विटर) र फेसबुक अकाउन्टेन्टमा नेपाली र अंग्रेजीसहित चार भाषामा नियमित रूपमा सूचना तथा कार्य प्रगति सार्वजनिक गर्न थालेको हो ।
प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट नेपाली, अंग्रेजी, नेपाल भाषा र मैथिली भाषामा पोस्ट गर्न थालेको हो ।प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्रीको कामलाई खुला, पारदर्शी र जवाफदेही बनाउनका लागि यो अभ्यासको थालनी गरिएको हो ।
रावलले कान्तिपुरसँग भने, 'हामी जनतामाझ खुला, पारदर्शी र जवाफदेही बन्न चाहन्छौं । त्यसैले विभिन्न भाषी जनताले प्रधानमन्त्रीका काम सहजै बुझून् भन्ने हेतुले यो अभ्यास थालिएको हो ।'
हाललाई नेपाली, अंग्रेजी, नेपाल भाषा र मैथिलीमा सूचनाहरू पोस्ट भइरहेको जानकारी दिँदै रावलले भविष्यमा यसलाई अझ बढी भाषामा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले थपे, 'हामी यसभन्दा धेरै भाषामा देखाउन चाहन्छौं, तर सीमित समय र स्रोतका हिसाबले यो प्रयासलाई निरन्तरता दिने काम जारी छ ।'
प्रधानमन्त्री कार्यालयले मुलुकका विभिन्न भाषिक समुदायलाई सम्मान गर्दै उनीहरूसम्म सीधा सूचना पुर्याउन आफ्नो डिजिटल संवादलाई थप समावेशी र प्रभावकारी बनाउन खोजेको देखिन्छ।
