छोरा सञ्जयको मनमा आमालाई नेपाल ल्याएर उपचार गर्ने चाहना थियो । ओमानस्थित नेपाली दूतावासको सहयोगमा गत वर्ष उनी आमालाई भेट्न ओमान पनि पुगे । तर, निराश भएर फर्किए ।
What you should know
झापा — २०७५ पुसमा कुवेत उडेकी बिनादेवी कँवर १४ महिनापछि फर्किइहालिन् । चाँडै फर्किनुको कारण थियो, भनेजस्तो काम नहुनु ।
घर फर्किएको महिना दिनपछि उनले फेरि खाडीको बाटो समातिन् । यसपटक गन्तव्य थियो, ओमान ।
लोपोन्मुख आदिवासी समुदायकी ४५ वर्षीया बिनादेवी विदेश जानुअघि मेचीनगर–७ स्थित राज टी इस्टेटमा चिया टिप्ने श्रमिक थिइन् । उनका पति कारखानामा काम गर्थे । कोभिड महामारीभन्दा अघि दुवैको जागिर गुमेपछि उनले परदेश यात्रा रोजिन् ।
सरकारले नेपाली महिलालाई घरायसी कामदारका रूपमा खाडी मुलुक जान रोक लगाएपछि दलालहरूले भारतीय बाटो प्रयोग गर्दै आएका छन् । कुवेत पठाउने दलालले नै ओमान पठाइदियो । दलालले दुवै पटक भारतीय बाटोबाट खाडी उडाएको थियो । उनको दोस्रो गन्तव्य पहिलोजस्तो असहज थिएन । एक जना ओमानीको घरमा घरेलु कामदारको रुपमा भर्ना भइन् । काम राम्रै थियो । सेवा सुविधा पनि सन्तोषजनक नै ।
सबै ठिकठाक चल्दै थियो । तर, एक दिन काम गर्दा गर्दै अचानक उनी ढलिन् । २०७९ माघ २३ देखि उनी दक्षिणी ओमानको सलालाहस्थित सुल्दान कावुस अस्पतालमा अचेत अवस्थामै छिन् । डेढ वर्षजति अवैध रूपमा काम गरेकी उनले दुर्घटना हुनुभन्दा केही अघि मात्र वैधानिकता पाएकी थिइन् ।
घरको कामदारको भूमिकामा काम गर्दागर्दै ढलेकी जानकारी सहकर्मीहरूले परिवारलाई दिएका थिए । छोरा सञ्जयका अनुसार छ महिनापछि मात्रै ओमानस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर गरिएको थियो । चिकित्सकका अनुसार बिनादेवीलाई गम्भीर हृदयाघात भएको थियो । तर, परिवारले भने शारीरिक र मानसिक यातनाका कारण बिनादेवी कोमामा पुगेको हुन सक्ने आशंका गरेको छ ।
जेठा छोरा सञ्जयको मनमा आमालाई नेपाल ल्याएर जति सकिन्छ यतै उपचार गर्ने चाहना थियो । ओमानस्थित नेपाली दूतावासको सहयोगमा गत वर्ष उनी आमालाई भेट्न ओमान पनि पुगे । तर, निराश भएर फर्किए ।
आमासँग सात दिन अस्पतालमा बसेका उनी रित्तो हात फर्किनुपर्यो । ‘आमालाई लिन गएको थिएँ,’ सञ्जयले भने, ‘तर, विभिन्न समस्याका कारण सम्भव भएन ।’
दूतावासका अनुसार बिनादेवीलाई नेपाल पठाउन सकिन्छ । तर, त्यसका लागि एकजना डाक्टर र नर्स अनिवार्य चाहिन्छ । साथै ६ वटा अतिरिक्त सिट बराबरको टिकट काट्नुपर्ने हुन्छ । हिृवलचियरमा राख्ने सुविधा पनि छैन, किनभने उनी सिधा बस्न सक्ने अवस्थामा छैनन् ।
ओमानबाट नेपाल आउने सिधा उडान नभएकाले अर्को चुनौती थपिएको छ । दुईवटा जहाज बदल्नुपर्ने भएकाले दुवै उडानमा सिट किन्नुपर्ने हुन्छ । ‘यही कारण उद्धार प्रक्रिया झन् जटिल बनेको हो,’ दूतावास स्रोतले भन्यो । ओमानका नेपाली समुदायले समेत उद्धारमा सहयोग जुटाउने प्रयास गरे, तर प्रक्रिया अघि बढेन ।
बिनादेवी अझै अस्पतालमै अचेत अवस्थामा छिन् । झापामा रहेका परिवार भने उनलाई कहिले ल्याउन सकिएला भनेर चिन्तित अवस्थामा बसेको छ । ‘आमालाई घर ल्याउन २०/२५ लाख खर्च लाग्ने देखिन्छ,’ सञ्जय भन्छन् ।
बिनादेवीको अवस्थाबारे चासो देखाउँदै नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दूतावासमार्फत उद्धार र उपचारमा सहयोग गर्ने प्रयास गरेका थिए । उनले फोनमार्फत ओमानस्थित राजदूत डोरनाथ अर्यालसँग अवस्थाबारे सोधपुछ पनि गरेका थिए ।
राजदूत अर्याल भन्छन्, ‘उनको अवस्था गम्भीर छ । यतिबेला विमानमार्गबाट पठाउन सम्भव छैन। सरकारी अस्पतालमै उपचार भइरहेको छ ।’
सम्बन्धित पुरानो समाचार
