'उत्पीडित समुदायका आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास भइरहेको छ'

लेखक खगेन्द्र संग्रौलाले भने, 'शासकहरुले उत्पीडित समुदायका आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गरेका छन्, जसमा सञ्चारमाध्यमको पनि भूमिका छ ।'

कार्तिक २३, २०८२

रासस

'There is an attempt to criminalize the movements of oppressed communities'

What you should know

काठमाडौँ — सरोकारवालाहरुले थारु र उत्पीडित समुदायले गरेका आन्दोलनलाई अपराधीकरण गर्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

थारु नागरिक अभियानले आयोजना गरेको ‘थारु र परिवर्तनको राजनीतिः नयाँ दृष्टिकोणको खोजी’ अन्तरक्रियामा उनीहरुले परिवर्तनको आन्दोलनमा होमिने समुदायले गर्ने आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गलत भएको बताए ।

लेखक खगेन्द्र संग्रौलाले माओवादी द्वन्द्वमा सबैभन्दा बढी थारु, दलित र मधेशी समुदायबाट बलिदान भएको उल्लेख गर्दै भने, 'शासकहरुले उत्पीडित समुदायका आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गरेका छन्, जसमा सञ्चारमाध्यमको पनि भूमिका छ,' उनले भने ।

थरुहट नेता लक्ष्मण थारुले टीकापुरमा भएको आन्दोलनपछि थारुहरूको पहिचान र अस्तित्वका सवालबारे सबैजना जानकार भएको बताए । 'पहिलो संविधानसभापछि सुरु भएको थारु आन्दोलन अन्ततः टीकापुरमा पुगेको थियो, तर त्यसलाई दमन गरियो,' उनले भने ।

उनले थारु मुद्दा बोकेर बनेका दलहरूले सत्तासँग मोलमोलाइ गर्दा आन्दोलनको आत्मा कमजोर बनाएको धारणा राखे । लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै उनले देशभर थारु नागरिक अभियान सशक्त रूपमा अघि बढाउन आह्वान गरे ।

जेनजी आन्दोलनका अगुवा रिजन राना मगरले भने, 'जब उत्पीडित समुदायले प्रतिकार गर्छ, राज्यले दमन सुरु गर्छ । यो ऐतिहासिक उत्पीडनको निरन्तरता हो ।' उनले थारु जनतालाई आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउन र सत्ताको मोलाहिजा गर्ने नेताहरूलाई बहिष्कार गर्न अनुरोध गरे । 

नेता सुमना श्रेष्ठले प्रतिनिधित्वका लागि व्यापक सोच आवश्यक रहेको बताइन् । उनले भनिन्, 'राजनीतिक नेता मात्र खोज्ने होइन, स्थायी सरकारमा पहुँच सुनिश्चित गर्नुपर्छ । कोटा प्रणालीले एक तहको प्रतिनिधित्व दिएको छ, तर समुदायको सहयोग नपाएमा यो दीर्घकालीन हुन सक्दैन ।'

नेता सुरेन्द्र चौधरीले एक-अर्काको भावनालाई बुझेर एउटा नयाँ भाष्य सिर्जना गरेर जानुपर्ने र वैकल्पिक राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे ।

रासस

Link copied successfully