आफूहरूमाथि हातपात भएपछि चिकित्सकहरूले पनि एनआईसीयू र आकस्मिक कक्षको सेवा ठप्प पारेका छन्
राजविराज — एनआईसीयूमा विद्युत् सर्ट भई एलईडी लाइट खसेर नवजात शिशु घाइते भएपछि सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको अवस्था तनावग्रस्त बनेको छ । आइतबार साँझ नवजात शिशु घाइते भएका हुन् ।
आक्रोशित आफन्तले एनआईसीयूमै पुगेर निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिलिप साहमाथि हातपात गर्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले अस्पताल परिसरमा रहेका डस्टबिनमा आगोसमेत लगाएका हुन् ।
एनआईसीयूमा घाइते भएका रुपनी गाउँपालिकाकी रेखा यादवका शिशुलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
हातपातपछि चिकित्सकहरूले पनि एनआईसीयू र आकस्मिक कक्षको सेवा ठप्प पारेका छन् । चिकित्सकले हातपात गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरिरहेका छन् । एनआईसीयूमा उपचाररत रहेका अन्य तीन जना नवजात शिशुलाई पनि उपचारका लागि बाहिर लगेको प्रत्यक्षदर्शी राजकुमार यादवले बताए ।
चिकित्सक नहुँदा आकस्मिक कक्षका करिब २५ जना बिरामी उपचारविहीनको अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले घटनास्थलमा प्रहरी खटाइएको र थप बुझ्ने कार्य भइरहेको बताए ।
