गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

भेटका क्रममा मन्त्री ओमप्रकाश अर्याल र राजदूत नवीन श्रीवास्तवबीच निर्वाचन केन्द्रित शान्ति सुरक्षाको विषयमा कुराकानी भएको छ ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Home Minister Aryal meets with Indian Ambassador Srivastava

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको छ ।  

आइतबार गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । 

भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधैं सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधैं सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरे । 

मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी मन्त्री अर्यालले भेटका क्रममा बताए । 

भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति मित्रवत भावनाप्रति धन्यवाद दिँदै, नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैं निरन्तर रहने कुरा प्रष्ट्याए । 

त्यही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले व्यक्त गरे ।      

कान्तिपुर

Link copied successfully