भारतसँग निकट भएको छनक दिने गरी प्रसाईंले दिँदै आएको अभिव्यक्ति नयाँदिल्लीको नोटिसमा
What you should know
काठमाडौँ — सिंहदरबारमा भएको गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीचको भेटका क्रममा दुर्गा प्रसाईंबारे प्रसंगसमेत उठेको छ ।
गत शुक्रबार नयाँदिल्लीबाट काठमाडौं फर्किने क्रममा प्रसाईं भारतीय अध्यागमनको केरकारमा परेका थिए । आइतबार भएको भेटका क्रममा त्यसबारे समेत श्रीवास्तवसँग गृहमन्त्री अर्यालले जानकारी लिएको स्रोतले बतायो ।
‘भारतीय राजदूत श्रीवास्तवले समेत नेपालमा प्रसाईंमाथि कुनै मुद्दा भए/नभएकोबारे चासो राख्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँको विषयमा गृहमन्त्रीज्यूले जानकारी समेत दिनुभएको थियो ।’
भारतसँग निकट भएको छनक दिने गरी प्रसाईंले दिँदै आएको अभिव्यक्तिलाई नयाँदिल्लीले नोटिसमा लिँदै आएको स्रोतको भनाइ छ । ‘पछिल्लो समय जेन-जी आन्दोलनपछि उनको भारत भ्रमणलाई लिएर समेत भारतीय पक्षले सरोकार राख्दै आएको थियो,’ स्रोतले भन्यो, ‘खासगरी भारत भ्रमणलाई लिएर उनले गर्ने टिप्पणीप्रति भारतीय पक्ष संशकित रहँदै आएको थियो ।’
पछिल्लो समय ७ मंसिरदेखि राजसंस्था फर्काउने आन्दोलन गर्ने भन्दै आएका प्रसाईंले त्यहाँबाट समेत मानिसहरूलाई सडकमा उतार्ने दाबी गर्दै आएका थिए । यस्तोमा भारतीय राजदूत श्रीवास्तव सिंहदरबार पुगेका बेला प्रसाईंबारे कुराकानी भएको स्रोतको भनाइ छ ।
गृहमन्त्रीको सचिवालयले भेटबारे जारी गरेको प्रेस नोटमा भने प्रसाईंको विषयमा केही उल्लेख छैन । यद्यपि, मन्त्री अर्याल र राजदूत श्रीवास्तवबीच निर्वाचनका लागि शान्ति सुरक्षाको विषयमा कुराकानी भएको भनिएको छ । भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेको उल्लेख छ ।
श्रीवास्तवले नेपाल-भारत सम्बन्ध सधैँ सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउँदै निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधैँ सकारात्मक रहेको विचार राखेको समेत भनिएको छ ।
मन्त्री अर्यालले चाहिँ देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरेका थिए ।
