मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यसहित सराेकारवाला पक्षसँग आइतबार प्रारम्भिक वार्ता भइरहेको छ ।
What you should know
काठमाडौँ — सिन्धुपाल्चाेककाे हेलम्बुस्थित स्थानीयले बन्द गरेकाे मेलम्चीको मुहान खुलाउन खानेपानी मन्त्रालयमा छलफल सुरु भएकाे छ ।
मेलम्चीका क्षेत्रका बासिन्दाले काठमाडौं ल्याइएको पानी खोलामा फर्काएपछि राजधानीमा पानी आपूर्तिमा समस्या देखिएको छ । उक्त समस्या समाधानका लागि आइतबार खानेपानी मन्त्रालयमा सरोकारवाला बीच छलफल सुरु भएको छ ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अगुवा राजकुमार भण्डारीका अनुसार खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यसहित सराेकारवाला पक्षसँग प्रारम्भिक वार्ता भइरहेको छ ।
'२०८१ असोजमा तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवको रोहबरमा भएको सम्झौता कार्यान्वयन नगरेकाले हामीले सुरुङमा पठाइएको पानी खोलामा फर्काएका थियौं, अहिले त्यसै विषयमा छलफल भइरहेको छ,' उनले भने ।
सुरुङमार्फत पठाइने दैनिक झन्डै २० करोड लिटर पानी रोकिएपछि काठमाडौं उपत्यकाको वितरण प्रणालीमा ठूलो असर परेको छ ।
संघर्ष समितिका अध्यक्ष पासाङ शेर्पाका अनुसार मेलम्ची र सहायक रिबर्मा खोला दुवैबाट पानी प्रवाह बन्द गरिएको हो ।
संघर्ष समितिले यसअघि काठमाडौंस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य कार्यालयमा कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत थिए । माग सम्बाेधन नभएकाे भन्दै उनीहरुले सातौँ दिनमा पानी खोलामा फर्काएर पानी काठमाडाैं आउन बन्द गरेका हुन् ।
यससँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकामा अहिले आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिने जनाएको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट थोक वितरण केन्द्रमा पठाइने पानी आपूर्ति पूर्ण रूपमा रोकिएको केयूकेएलको भनाइ छ ।
सम्बन्धित समाचार
स्थानीयले गरे मेलम्चीको मुहान बन्द, काठमाडौंमा पानी आपूर्ति ठप्प
