मनाङमा बेपत्ता २ भारतीय नागरिकको शव फेला 

मृतकहरू बाबुछोरी रहेको सशस्त्र प्रहरीको भनाइ

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Bodies of 2 missing Indian nationals found in Manang

काठमाडौँ — कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका २ भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीय प्रियन्साकुमारी पटेलको शव फेला परेको छ । सशस्त्र प्रहरीको टोलीले आइतबार दिउँसो उनीहरूको शव फेला पारेको हो । मृतकहरू बाबुछोरी रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।  

 सम्पर्कविहीन भएपछि उक्त होटलले  खोजीकार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुन: कात्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टालीले उनीहरूको शव उक्त गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो । शवलाई घटनास्थलबाट तल झार्ने कार्य भइरहेको छ ।

कान्तिपुर

Link copied successfully