विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार वायुसेवा कम्पनीहरू र उड्डयनकर्मीहरूलाई जानकारी गराउन औपचारिक नोटाम जारी गरिएको छ ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विद्युत् सर्किट सर्ट भएपछि शनिबार राति ९:२० बजेसम्मका लागि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार वायुसेवा कम्पनीहरू र उड्डयनकर्मीहरूलाई जानकारी गराउन औपचारिक नोटाम जारी गरिएको छ । उनका भनाइअनुसार, विद्युत् सर्किटमा समस्या देखिएपछि प्राविधिक टोलीले साँझ ५ बजेदेखि सर्ट भएको स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ, तर अहिलेसम्म समस्या फेला परेको छैन ।
शनिबार दिउँसो करिब ४ बजेदेखि धावनमार्गको विद्युत् सर्किटमा समस्या देखिएको थियो । धावनमार्ग अन्धकार बनेपछि काठमाडौंबाट हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन् ।
विमानस्थलका अनुसार, दुबईबाट आएको फ्लाई दुबई सिमरामाथि होल्डमा बसेपछि फर्किएको छ । त्यस्तै, कोरियाबाट आएको कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । जनकपुरबाट आएको बुद्ध एयरको विमान पनि सिमरामै फर्किएको छ ।
यसैबीच, काठमाडौंबाट दुबईका लागि फ्लाई दुबई, दिल्लीका लागि इन्डिगो एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई विमान धावनमार्ग खुल्ने प्रतीक्षामा रहेका छन् ।
विमानस्थल प्राधिकरणका अनुसार, प्राविधिक टोलीले मर्मत कार्य तीव्र रूपमा जारी राखेको छ र सम्भव भएसम्म छिट्टै पुनः उडान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
