स्काउटको निर्देशक नियुक्तिमा विवाद

शनिबार स्काउट शुद्धीकरण अभियानले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको हो ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Controversy over appointment of Scout director

What you should know

काठमाडौँ — नेपाल स्काउटको कार्यकारी निर्देशक नियुक्तिमा विवाद भएको छ ।

शनिबार स्काउट शुद्धीकरण अभियानले निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यालय परिसरमा धर्ना दिएको छ । स्काउटको निर्देशक नियुक्तिको लागि शनिबार सर्टलिस्टमा परेकाहरुलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकलाधकेलसमेत भएको थियो । अभियानका संयोजक देवदूत अधिकारीले निर्देशक पदको लागि गरिएको विज्ञापन गलत भएको दाबी गरे । यस विषयमा राष्ट्रिय सतर्कतामासमेत उजुरी परेको छ ।

निर्वाचित भएको प्रमुख आयुक्तलाई निवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्बन गरेर नाइटिंगेल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टीका लगाएर आयुक्त बनाएको उनको आरोप छ । अभियानले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारबाही गर्नुपर्ने माग राखेको छ ।

स्काउटका निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई मन्त्री चौधरीले हटाएका थिए । उक्त विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने दाबी धर्नामा सहभागीहरुको गरेका छन् । सहसचिव स्तरको निर्देशक नियुक्तिका लागि शैक्षिक योग्यता स्नातक तह मात्र तोकेर मिलेमतो गरिएको दाबी छ ।

स्काउटले निर्देशक नियुक्तिका लागि कात्तिक १९ गते लिखित परीक्षा सञ्चालन गरेको थियो । जसमा ओखलढुंगाका अपर्ण कार्की र काठमाडौंका सम्राट बराल छनोट भएको स्काउटले जनाएको छ । धर्नापछि अन्तर्वार्ता बिथोलिएको थियो । सतर्कता केन्द्रले निर्देशक पदको पदपूर्ति प्रक्रियासँग सम्बन्धित कागजात र राय माग गर्दै स्काउटलाई पत्राचार गरेको छ । शैक्षिक योग्यता नपुगेको र कार्की स्काउटकै सदस्य रहेको दाबीसहित सतर्कता केन्द्रमा उजुरी परेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully