आयोगले निर्वाचन तयारीका ६० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएका छन् ।
What you should know
काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन गर्नुको अर्को विकल्प नभएको बताएका छन् ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ का लागि घोषणा गरेदेखि नै निर्वाचन आयोग तयारीमा लागेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले घोषणा भइसकेको अवस्थामा निर्वाचन हुनुपर्ने बताए । 'निर्वाचन हुन्छ, हुनुपर्छ । त्यो बाहेकको विकल्प हामीसँग छैन,' भण्डारीले दोहोर्याएर भने, 'अहिले त हामीसँग निर्वाचन बाहेक विकल्प भएन । विकल्पविहीन निर्वाचन भएकाले अरू बाटो हामीसँग छैन ।'
आयोगले निर्वाचनका लागि तयारीका ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको पनि भण्डारीले बताए । आयोगले सरकारलाई र सरकारले आयोगलाई विश्वास गरेकाले नै चुनावका लागि आवश्यक ६० प्रतिशत काम सम्पन्न गरिएको उनको भनाइ थियो ।
निर्वाचनका लागि सरकारले गर्नुपर्ने काम भने रहेको उनले बताए । विशेष प्रकृतिको निर्वाचन भएको र यसलाई सम्पत्त गर्न कठिन रहेको पनि बताउँदै उनले निर्वाचन सम्पन्न गर्छौं भनेर अघि बढ्नुपर्ने बताए।
निर्वाचनमा पुराना र नयाँ शक्तिले एक अर्कालाई निषेधको नीति लिन नहुने भण्डारीको भनाइ थियो । उनले सुशासन र शान्ति कायम गर्नका लागि पनि प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने बताए । प्रतिनिधिसभा निर्वाचनकालागि शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, आयोगलाई स्रोत साधनको सुनिश्चितता गर्नुपर्ने कार्य सरकारको रहेको पनि भण्डारीले बताए । 'कसैले पनि असुरक्षाको भावना बोकेर निर्वाचन स्थल जानुपर्दैन भन्ने सुनिश्चितता सरकारले गर्नुपर्छ । मिति घोषणा भइसकेपछि आयोग निर्वाचन प्रक्रियामा सहभागि छ र कसरी सम्पन्न गर्ने भनेर दत्तचित्त भएर लागेका छौं,' भण्डारीले भने ।
जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले निर्वाचन घोषणा गरेका थिए ।
