मैले पक्राउ गर्नुपर्छ भनेकैले ओलीहरूलाई हेलिकप्टरमा हालेर सुरक्षित राखिएको हो : आयोग अध्यक्ष कार्की

'कानुन सबैले मान्नुपर्छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कानुन मान्दैन भन्ने लाग्दैन । केही कुरामा उहाँहरूको चित्त नबुझेको हुन सक्छ ।' -आयोग अध्यक्ष कार्की

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

The Oli family members were kept safe in a helicopter because I said they should be arrested: Commission Chairman Karki

What you should know

काठमाडौँ — भदौ २३ गतेको जेन-जी आन्दोलन र भोलिपल्ट उत्पन्न परिस्थिति सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबैले कानुन मान्नुपर्ने बताएका छन् । शुक्रबार कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष कार्कीले प्रहरीहरूको बयानपछि क्रमश: सबैको बयान लिने पनि बताए ।

तपाईंहरूप्रति उहाँहरू(ओलीलगायत)ले  विश्वास गर्नु भएको छैन नि भन्ने प्रश्नमा कार्कीले भने, ' कानुन सबैले मान्नुपर्छ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कानुन मान्दैन भन्ने लाग्दैन । केही कुरामा उहाँहरूको चित्त नबुझेको हुन सक्छ ।'

एमालेले कार्की आयोगले निष्पक्ष अनुसन्धान गर्न नसक्ने बताउँदै आएको छ । कात्तिक ४ गते बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको दलहरूसँगको बैठकमा एमाले महासचिव शंकर पोखरेलले भनेका थिए, ' वर्तमान सरकारले गठन गरेको 'कार्की आयोग' स्वतन्त्र र निष्पक्ष छानबिन गर्नसक्ने अवस्थामा छैन । आयोगका प्रमुख नै आन्दोलनलाई उक्साउने कार्यमा संलग्न रहेको प्रमाण सार्वजनिक भइसकेको छ।'

कार्कीले भदौ २४ गते सबै नेताहरूलाई पक्राउ गर्नुपर्छ भनेर एक्समा पोस्ट गरेका थिए । उनले लेखेका थिए, 'कसैलाई पनि भाग्न दिनु हुँदैन । केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको छ । पूर्वप्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत अन्य पूर्व मन्त्री सांसद एवं पदाधिकारीहरू कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन।'

कार्कीले भने आफूले त्यसबेला एक नाागरिकको हिसाबले बोलेको प्रतिक्रिया दिएका छन् । 'नागरिकको हिसाबले मैले बोलेँ । मैले यिनीहरूलाई पक्राउ गर्नुपर्छ भन्या कारणले पक्राउ गरेर लग्यो नि त । हेलिकप्टरमा हालेर लगेको होइन ? पक्राउ गरेर नलगेको भए त मार्थ्यो नि मासले । त्यो कुरा बुझ्या खोइ ?'

त्यस्तै आवश्यक काम परे अनुमति लिएर बाहिर जान पाइने पनि उनले बताए । उनले भने, ' पछि पनि उपत्यका नछाड् बाहिर नजाउ भनेको कुरा अर्कै कारण छ के ? आक्रमण हुन्छ भन्ने कुरा थियो के । यो कारणले यहाँ जान्छु भनेपछि जान त पाइन्छ ।' 

तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखकहरूसँग कहिले बयान हुन्छ भन्ने प्रश्नमा कार्कीको उत्तर छ, 'बयान क्रमश: आउँछ ।  प्रहरीको बयान आएपछि सबैको क्रमश: आउँछ ।  प्रहरीकै कारण पनि ढिला भएको छ त ।'

सम्बन्धित अन्य समाचारहरु 

भदौ २३ र २४ घटनाको जाँचबुझ आयोगले लियो नख्खु कारागार प्रमुखको बयान

जाँचबुझ आयोगमा अहिलेसम्म दर्जन उजुरी : तत्कालीन प्रधानमन्त्रीदेखि फिल्ड कमान्डरसम्मलाई कारबाहीको माग

कान्तिपुर

Link copied successfully