देशभरका ४६५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएकामा ११८ प्रहरी कार्यालय पूर्ण क्षतिग्रस्त भएका थिए, स्थानीय समुदायसमेतको सहयोगमा जोरजाम र मर्मतसम्भारपछि २४३ इकाइ साबिककै ठाउँमा फर्किए
What you should know
काठमाडौँ — २४ भदौको दिउँसो १० बजेतिर सयौं प्रदर्शनकारीको भीडले प्रहरी वृत्त नयाँ बानेश्वर घेर्न थाल्यो । प्रहरीले सम्झाउन खोज्दा पनि पार लागेन । भीड बढ्दै थियो । तितरबितर पार्न प्रहरीले अश्रुग्यास चलायो तर प्रदर्शनकारीले उल्टै अश्रुग्यासको सेल टिपेर प्रहरीतर्फ फ्याँके । ढुंगामुढा नै पनि गरे ।
साढे १२ बजेतिर जब वृत्तको भवनमा उनीहरूले आगो झोसे, ज्यान जोगाउन प्रहरीहरू नजिकै रहेको भीएस निकेतनको भवनमा छिरे । प्रदर्शनकारी त्यहीँ आइपुगे । प्रहरीलाई खोजी–खोजी बटुलेर सबैभन्दा माथिल्लो तलामा पुर्याए । त्यसपछि ‘बर्दी खोल्ने कि यहीँबाट झार्दिऔं ?’ भन्दै धम्क्याउन थाले ।
निरीह प्रहरीले फटाफट बर्दी फुकाले । प्रदर्शनकारीले उनीहरूलाई ओराले । भुइँतला हुँदै सडकमा पुगेपछि कुटपिट सुरु भयो । ज्यान जोगाउन प्रहरीहरू कोही नजिकैको भवनमा छिरे, कोही खोलातिर लागे । खोलामा पसेकालाई समेत लखेटे, जुन दृश्य खिचिएको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती नै भएको थियो । त्यस घटनामा घाइते भएका १५ प्रहरी अहिले पनि घरमा आराम गरिरहेका छन् । प्रहरी वृत्त नयाँ बानेश्वरको भवन भने प्रहरीले छाडेलगत्तै प्रदर्शनकारीले जलाइदिएका थिए ।
तीनकुनेनजिकै बागमती खोला किनारमा रहेको वृत्तको भवन अहिले खण्डहर छ । भवनको माथिल्लो भागमा नीलो बोर्डमा सेता अक्षरमा लेखिएको देखिन्छ– प्रहरी वृत्त नयाँ बानेश्वर । वृत्तको सेवा त्यसपछि काठमाडौं प्रहरी परिसरबाट सञ्चालन गरिएको थियो, १ कात्तिकदेखि भने बानेश्वरस्थित नागरिक लगानी कोषको पुरानो भवनमा सारिएको छ । ‘प्रहरी जनशक्ति र सेवाग्राहीको यो ठाउँ निकै साँघुरो छ,’ प्रहरी निरीक्षक पुष्पराज थापा भन्छन् ।
नयाँ बानेश्वरको वृत्तमा आक्रमण भएको दिन प्रहरी हवल्दार आशा चौधरी मुख्य गेटमै ड्युटीमा थिइन् । आफ्नो ज्यानको सुरक्षा आफैंले गर्नुपर्ने अवस्था आएपछि उनले श्रीमान्लाई फोन गरेर बोलाइन् । श्रीमान्ले घरमा बस्दा लाउने लुगा ल्याइदिए । त्यही लगाएर उनी सुटुक्क बाटो लागिन् । अहिले उनी ड्युटीमै छिन् । ‘पहिले घरबाटै प्रहरी पोसाक लगाएर आउने चलन थियो, अहिले डर लाग्छ । सामान्य कपडा बोकेर आउँछु अनि यहीँ फेर्छु,’ चौधरी भन्छिन्, ‘अहिलेको हाम्रो कार्यालयमा महिला प्रहरीका लागि धेरै समस्या छ । शौचालयको पनि राम्रो बन्दोबस्त छैन ।’
प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडा भवन जलेपछि पनि पुरानै लयमा सेवा दिने प्रयास भइरहेको बताउँछन् । ‘सानो ठाउँ भएका कारण व्यवस्थित रूपमा सेवा दिन अलि कठिन भइरहेको छ । भीडभाडका कारण पहिलेको जस्तो प्रणाली बसाउन सकेका छैनौं । सेवाग्राही बस्ने ठाउँ पनि गतिलो छैन । पहिले मुद्दा शाखा, प्रवर्द्धन शाखा, विशेष शाखालगायतका विभिन्न शाखाका लागि करिब १० कोठा थिए । अहिले दुई–तीन कोठा र पालबाट सेवा सञ्चालन गरिरहेका छौं ।’
आगजनीमा ब्यारेकमा रहेका प्रहरी पोसाक र व्यक्तिगत सामान पनि जलेका थिए । गाडी, मोटरसाइकल, कम्प्युटर, कागजात पनि नष्ट पारिएका थिए । हतियार लुटिए । १३ महिने बालिका बलात्कारको आरोपमा पक्राउ परेकासहित ६० जनाभन्दा बढी थुनुवा भागेका थिए । जलेको भवनको मर्मत स्थानीयको सहयोगमा सुरु भएको छ । माथिल्लो तला भत्काएर प्रबलीकरण गरेपछि बस्न मिल्ने प्राविधिकहरूको भनाइ छ तर यो काम कहिले सकिन्छ, टुंगो छैन ।
वृत्तमा १२३ प्रहरी कार्यरत छन् । उनीहरूका लागि अहिलेको भवन खान, शौचालय जान, सेवा सञ्चालन गर्नका लागि साँघुरो छ । थुनुवा कक्ष छैन । कोही पक्राउ पर्दा कोटेश्वर र काठमाडौं प्रहरी परिसरमा राख्ने गरिएको छ । नयाँ बानेश्वर वृत्तले काठमाडौं महानगरपालिकाका वडा नं १०, ३१ र ३२ का साथै कागेश्वरी मनहरा नगरपालिकाका वडा नं ७, ८ र ९ हेर्छ । काँडाघारी र कोटेश्वर प्रभाग यही वृत्तअन्तर्गत छन् ।
२३ र २४ भदौमा नयाँ बानेश्वरस्थित प्रहरी वृत्तसहित देशभरका ४६५ प्रहरी कार्यालयमा आक्रमण गरेर क्षति पुर्याइएको थियो । तीमध्ये ११८ प्रहरी कार्यालयमा पूर्ण क्षति पुगेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार १८ प्रहरी कार्यालयलाई भत्काएरै बनाउनुपर्नेछ । ‘यीमध्ये केहीको भवन आफ्नै जमिनमा नभएकाले बनाउन समस्या छ,’ उनी भन्छन्, ‘अहिले भने वैकल्पिक भवन र कार्यालय प्रयोग गरेर सबै कार्यालयबाट सेवा प्रदान गरिरहेका छौं ।’
काफ्लेका अनुसार सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ६४ कार्यालय पूर्ण र १ सय ४६ मा आंशिक क्षति पुगेको छ । मधेश प्रदेशमा पूर्ण क्षति १३ र आंशिक क्षति ७७ प्रहरी कार्यालयमा भएको छ । कोशीमा १६ प्रहरी कार्यालयमा पूर्ण र ४१ मा आंशिक, बागमती (उपत्यकाबाहेक) मा ८ कार्यालयमा पूर्ण र ३७ मा आंशिक क्षति भएको छ । यस्तै, सुदूरपश्चिममा १० प्रहरी कार्यालय पूर्ण र ६ मा आंशिक र लुम्बिनीमा ४ मा पूर्ण र १० मा आंशिक क्षति पुगेको छ । कर्णाली प्रदेशमा भने कुनै पनि प्रहरी कार्यालयमा क्षति नपुगेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । उपत्यकाका १४, मधेशका २, कोशी र बागमतीका १–१ प्रहरी कार्यालय पहिलेकै ठाउँमा पुनःस्थापना हुन बाँकी छ ।
२४ भदौमा प्रदर्शनकारीले काठमाडौंमा ३ प्रहरीको ज्यान लिएका थिए । सिन्धुलीका प्रहरी सहायक निरीक्षक मलन राय, कास्कीका प्रहरी सहायक हवल्दार अमृत गुरुङ र दार्चुलाका प्रहरी जवान उत्तमसिंह थापाको प्रदर्शनकारीको कुटपिटबाट मृत्यु भएको हो । राय र थापा महाराजगन्जमा कार्यरत थिए । महाराजगन्जमा आगजनी हुँदा भित्र फसेका २४ प्रहरीलाई सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो । प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन थापा मानवीय क्षतिसँगै हतियार लुटपाट र भौतिक संरचनामा आगजनी गरिए पनि पहिलेकै ठाउँबाट सेवालाई पुरानै अवस्थामा फर्काइएको बताउँछन् । ‘समाजको सुरक्षा गर्नुपर्ने दायित्व बोध गरेर हामी निरन्तर सेवामा खटिएका छौं,’ उनी भन्छन्, ‘यसमा स्थानीयको पनि सहयोग छ ।’
***
कालीमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापा जेन–जी आन्दोलनको दिन २३ भदौमा माइतीघर–बानेश्वर क्षेत्रमा खटिएका थिए । निषेधित क्षेत्र तोडेर अघि बढेको भीडमा रहेका एक जनाले उनको दाहिने खुट्टामा रड प्रहार गरे । चोट बोकेरै जिम्मेवारीमा खटिएका उनी राति ८ बजे मात्र अस्पताल पुगेका थिए ।
‘डाक्टरले १० दिन आराम गर्नुपर्छ भनेपछि ब्यारेकमै आराम गर्ने भनेर म प्रहरी वृत्त कालीमाटी फर्किएँ,’ उनले सुनाए, ‘२४ भदौको बिहान म अफिसमा सिभिल पोसाकमै थिएँ । कलंकीमा मानिसको भीडले आगजनी सुरु गरेको खबर आएपछि दुखाइ कम गर्ने सुई लगाएर म टोलीसहित गएँ । तर त्यहाँ नियन्त्रण गर्न सक्ने अवस्था थिएन । हामी फर्केर कालीमाटी वृत्त आइपुग्दा बल्खु, कीर्तिपुर र बालाजुको भीडसमेत मिसिएर त्यहीँ आइपुगेको रहेछ ।’
भीडले घेराउ गरेपछि माइकबाट प्रहरीले ‘हामी कार्यालयभित्रै बस्छौं, हामीलाई केही नगर्नुस्’ भनेर अपिल गरेका थिए । तर भीडले प्रहरीको कुरा सुनेन । बरु ढुंगामुढा हुन थाल्यो । गेटमा रहेका एक प्रहरीको हतियार खोस्ने प्रयास भएपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्यो । भीड तितरबितर भएन । प्रदर्शनकारीले गेट भत्काए । अश्रुग्यास हान्दासमेत भीड तितरबितर हुन गाह्रो भयो । त्यही क्रममा एउटा समूहले भित्र छिरेर पार्किङमा राखिएका मोटरसाइकल र गाडीमा आगो लगायो । त्यहाँ मोटरसाइकल मात्र १९२ वटा थिए । ‘उनीहरूले सिसाको बोतलमा आगो बालेर फालेका थिए, त्यसमा पक्कै पेट्रोल मात्र थिएन,’ थापाले भने, ‘हामीले निकै प्रयास गर्दा पनि आगो निभेन । क्षणभरमै आगो फैलियो ।’
प्रदर्शनकारीले प्रहरीलाई नै जलाउनुपर्छ भन्न थाले । आगजनीका कारण मानवीय क्षति हुन सक्ने देखेपछि कालीमाटीबाट प्रहरी निस्किए । ‘हातहतियार गाडीमा राखेर हामी काठमाडौं प्रहरी परिसर पुग्यौं, त्यहाँ पनि आक्रमण भएको थियो । हामी रातिसम्मै परिसरको सुरक्षामा खटियौं,’ डीएसपी थापाले भने, ‘राति सेना सडकमा आएपछि मात्र प्रदर्शनकारीको चहलपहल कम हुँदै गयो । त्यसपछि राति साढे ११ बजे म आफ्नो टोली लिएर कालीमाटी वृत्त गएँ । हामी पुग्दा त कार्यालय जलिसकेको थियो ।’ उनीहरू फेरि काठमाडौं प्रहरी परिसर फर्किए र भोलिपल्ट बिहान ७ बजे कालीमाटी गए ।
डीएसपी थापा मधेश आन्दोलन र थारू आन्दोलनमा पनि फिल्डमा खटिएका थिए । त्यति बेलाको अनुभवका कारण २४ भदौमा आफ्ना हातहतियार, सवारीसाधन र टिमलाई सुरक्षित राख्न सकिएको बताउँछन् ।
प्रहरी टोली कालीमाटी फर्किएपछि स्थानीयले उनीहरूका लागि आवश्यक सामग्री बन्दोबस्त गरिदिन थाले । मेसका लागि सबैलाई पुग्ने गरेर तत्काल दुई लाख जतिको सामान स्थानीयले किनिदिएका थिए । प्रहरीका लुगाफाटा ब्यारेकमै जलेका थिए । पोसाक र ओछ्यानको व्यवस्था पनि स्थानीयले नै गरिदिए । त्यसमा प्रहरी प्रधान कार्यालयले पनि केही सहयोग गर्यो । प्रहरी वृत्तलाई पुरानै लयमा सञ्चालन गर्न नागरिक सुरक्षा समिति बन्यो । समितिले नै अहिले जलेको भवनको पुनर्निर्माण गर्दै छ । झ्याल, ढोका, वायरिङलगायतका काम भइरहेका छन् । कालीमाटीमा दुई भवनका ५८ कोठा तयार पार्नुपर्नेछ ।
डीएसपी थापाका अनुसार कालीमाटीमा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । ‘अहिलेसम्म वायरिङमा २५ लाख, रंगरोगन, मार्बल मर्मत र सरसफाइलगायतमा १५ लाख रुपैयाँ खर्च भइसकेको छ । कार्यालय प्रयोजनका लागि कम्प्युटर, टेबल, दराजलगायतका सामान नागरिक सुरक्षा समितिबाट आएको छ,’ थापाले सुनाए ।
समुदायकै सक्रियताका कारण वृत्त मातहतमा रहेका बिट र प्रभाग २८ भदौदेखि सञ्चालनमा आएका थिए । कालीमाटी वृत्त मातहतमा ५ बिट र ३ प्रभाग छन् । तिनको सञ्चालनमा पनि स्थानीयले सहयोग गरेका थिए । ‘अहिले वृत्तका सबै प्रहरी जनसेवामा जुटेका छन् । भौतिक संरचना र महत्त्वपूर्ण कागजात जलेकाले पुरानै लयमा फर्कन भने केही समय लाग्छ,’ डीएसपी थापा भन्छन् ।
***
ललितपुरको इमाडोलस्थित प्रहरी प्रभागको भवन पनि प्रदर्शनकारीले २४ भदौमा आगजनी गरेका थिए । झ्याल–ढोका, टेबल–कुर्सीलगायतका सामग्री त्यो दिन जलेका थिए । आगजनी गरिएको कार्यालय सडक छेउमै छ । ठूला गाडी गुड्दा भवन नै हल्लिन्छ ।
इमाडोलको भवन बस्न योग्य नभएको प्राविधिकहरूले बताएका छन् । तर त्यही भवनबाट प्रहरीले सेवा सञ्चालन गरिरहेको छ । ‘हाम्रो बसाइ अस्तव्यस्त छ । पानीसमेत अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ एक प्रहरीले भने, ‘छड्के पानी पर्दा झ्याल–ढोकाबाट सजिलै छिर्छ ।’ प्लास्टिकको बार लगाएर शौचालय बनाइएको छ । प्रभागमा ३९ प्रहरी कार्यरत छन् । उनीहरूले जोखिमयुक्त भवनमै बसेर भए पनि सेवा प्रवाह गरिरहेका छन् । हातहतियारको सुरक्षा भने चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार महालक्ष्मी नगरपालिकाले इमाडोलको भवन निर्माण गर्ने योजना अघि बढाएको छ । तत्कालका लागि प्रहरीलाई कुनै सार्वजनिक भवन वा भाडाको घरमा राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
महालक्ष्मी–१ का वडाध्यक्ष छिरिङ लामाले आफ्नो वडाभित्र रहेको प्रहरी कार्यालय भएकाले निर्माणको जिम्मेवारी लिइएको जानकारी दिए । ‘नयाँ संरचनाको डीपीआर यही महिनामा सक्ने गरी लागिपरेका छौं,’ उनले भने, ‘प्रहरीलाई अस्थायी रूपमा भाडाको वा सामुदायिक भवनमा राख्ने विषयमा समेत छलफल भइरहेको छ ।’ भाडामा बस्नुपर्ने अवस्थामा खर्च नगरपालिकाले व्यवस्था गर्ने पनि उनले जानकारी दिए ।
स्थानीयकै श्रमदानबाट २०७० मा बनेको प्रभागको भवन जोगाउन २४ भदौमा स्थानीयले पनि प्रयास गरेका थिए । प्रहरीले पनि माइकिङ गर्दै दुई समूहलाई सम्झाइ–बुझाइ र बल प्रयोग गरेर तितरबितर पारेका थिए । तर पछि स्थानीयले पनि नदेखेको र नचिनेको व्यक्तिहरूको समूहले आएर भवनमा आगो लगाएको थियो । त्यहाँका हातहतियारसहितका आवश्यक सामग्री पनि सुरक्षित राखिएका थिए ।
***
प्रहरी प्रभाग इमाडोलको नेतृत्व गर्ने प्रहरी वृत्त सातदोबाटो पनि २४ भदौमा प्रदर्शनकारीको आक्रमणमा परेको थियो । सातदोबाटो वृत्तका प्रहरीहरू २४ भदौको बिहानैदेखि पुष्पकमल दाहाल निवास, कांग्रेसको पार्टी कार्यालयलगायत क्षेत्रमा खटिएका थिए । सातदोबाटोमै रहेका प्रहरीले पनि आफ्नो कार्यालय तोडफोड गर्न खोजेका करिब १० समूहलाई सम्झाइ–बुझाइ पठाएका थिए । वृत्त जोगाउन स्थानीयले पनि साथ दिएका थिए ।
दिउँसो ३ बजेतिर भने स्थानीयले समेत नचिनेका व्यक्तिहरू आए । नजिकैको सातदोबाटो ट्राफिक प्रहरी कार्यालयमा आगो लगाएर आएका उनीहरूले सातदोबाटो वृत्तमा ढुंगामुढा र आगजनी गरे । सयौंको संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले र स्थानीयले सम्झाउन सक्ने अवस्था भएन । प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था काबुमा आएन ।
अन्ततः हातहतियार सुरक्षित राखेर आत्मरक्षाका लागि प्रहरी कार्यालयको गाडीमा नजिकैको सैनिक ब्यारेक पुगे । ‘आगो लागिसकेको थियो, दमकल आउन सक्ने अवस्था पनि थिएन,’ एक प्रहरीले सम्झिए, ‘फोर्स थपिने सम्भावना नभएपछि हामी हातहतियार, अति आवश्यक कागजपत्र र प्रविधि उपकरण लिएर बाहिर निस्कियौं ।’ उनीहरू प्रहरी परिसर ललितपुर नै जान खोजेका थिए तर त्यहाँ पुग्ने अवस्था थिएन । आगो लाग्न थालेपछि हिरासतमा रहेका ४४ थुनुवालाई भने ‘लिस्टिङ’ गरेर छाडिएको थियो ।
भोलिपल्ट प्रहरी सातदोबाटो वृत्त फर्कंदा स्थानीय सरसफाइमा जुटिसकेका थिए । कोही जलेका सामान एकत्रित गर्दै थिए । प्रहरीलाई के खुवाउने ? जलेका कपडा र आवासको व्यवस्थापन कसरी गर्ने भनेर पनि उनीहरूले छलफल गर्दै थिए । ‘आफैं मर्ने स्थिति भएपछि हामी हातहतियार, मुद्दासम्बन्धी केही फाइल र कम्प्युटर लिएर सुरक्षित स्थानतर्फ गएका थियौं,’ एक प्रहरीले सुनाए, ‘भोलिपल्ट फर्किंदा त हामीभन्दा पहिले नै स्थानीय सरसफाइमा जुटेका देख्यौं । यसले हामीलाई निकै भावुक बनायो ।’
वृत्तमा कार्यरत प्रहरीका लागि स्थानीयले ९६ सेट सिरक–डसना, साबुन, ब्रसलगायत दैनिक उपभोग्य सामग्री तत्कालै उपलब्ध गराएका थिए । समुदायकै पहलमा कार्यालयको रङरोगन, प्लम्बिङ र विद्युत् लाइन मर्मत भएको छ । ‘जलेर काम नलाग्ने टेबल, दराज, कुर्सीलगायतको मर्मतसम्भार पनि स्थानीयकै सहयोगमा गरिएको छ,’ प्रहरी वृत्त सातदोबाटोकी प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले भनिन् ।
स्थानीयको सहयोगपछि प्रहरी वृत्त सातदोबाटोले पहिलेकै अवस्थामा सेवा सञ्चालन गरिरहेको छ । ‘यस्तो सहयोगी समुदाय मैले अरू कतै देखेको थिइनँ,’ २१ वर्षदेखि प्रहरी सेवामा रहेका एक प्रहरी निरीक्षकले भने । वृत्तमा रहेका दर्जनभन्दा बढी निजी मोटरसाइकल, मेसका सामग्री, व्यक्तिगत सामानलगायत जलेका थिए । प्रदर्शनकारीले लुटपाटसमेत गरेको प्रहरीको भनाइ छ ।
***
प्रहरी वृत्त स्वयम्भू वरिपरि २४ भदौको बिहानैदेखि प्रदर्शनकारीले तोडफोडको प्रयास गरेका थिए । स्थानीयले प्रहरीलाई साथ दिएपछि स्थिति नियन्त्रणमै थियो । तर दिउँसो ३ बजेपछि प्रहरीले नियन्त्रण गर्न नसक्ने भीड जम्मा भयो । प्रदर्शनकारीको आक्रमणमा परी तीन प्रहरी घाइते भए । आत्मरक्षाका लागि प्रहरीले पनि गोली चलायो । प्रहरीका हातहतियार नै खोसिन थाले । ठूलो क्षति हुन सक्ने देखिएपछि प्रहरीले वृत्त छाड्यो । त्यति बेला प्रदर्शनकारीले कम्पाउन्ड र गेट भत्काइसकेका थिए ।
प्रहरीले वृत्त छाडेपछि लुटपाट भयो । ठूला–साना गरी पाँच वटा सवारीसाधन जले । कागजात पनि बाँकी रहेन । प्रहरी वृत्त स्थानीयको पहलमा गुठीको जग्गामा अस्थायी प्रकृतिको साधारण भवन बनाइएको थियो । त्यही भवनमा प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।
भोलिपल्ट वृत्तमा फर्किएपछि स्थानीय सहयोग गर्न स्वस्फूर्त आए । कोही कुचो बोकेर सरसफाइमा जुटे, कसैले गेट, पर्खाल र भवन पुनर्निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गरे । पिउने पानीको व्यवस्था गरियो । ‘सुरुका दिन स्थानीयले घरबाट खाना ल्याएर पनि हामीलाई खुवाउनुभयो । दुई दिनको मिहिनेतपछि वृत्तभित्रै पकाएर खान मिल्ने मेस सञ्चालनमा आयो,’ एक प्रहरीले भने ।
प्रहरी प्रधान कार्यालय नक्सालले दुई वटा गाडी उपलब्ध गराएको छ । नागार्जुन नगरपालिका र काठमाडौं वडा नं १५ ले एक–एक वटा गाडी एक महिनाका लागि भाडामा दिएका छन् । प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले २४ भदौको प्रदर्शनका कारण मनोबल केही घटे पनि स्थानीय समुदायको सहयोगले हौसला मिलेको बताए । ‘त्यही ऊर्जाले हामी पुनर्निर्माणमा जुटेका छौं,’ उनले भने । यो वृत्त मातहत काठमाडौं महानगरपालिकाको वडा नं १५ र नागार्जुन नगरपालिकाका १ देखि ८ नम्बर वडा पर्छन् ।
***
पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकको प्रहरी वृत्त गौशालाको भवनमा २४ भदौमा आगजनी गरिएपछि प्रहरीले धर्मशालाबाटै सेवा दिइरहेका छन् । जलेको भवननेर भने अस्थायी सहायता कक्ष राखिएको छ । पक्राउ परेका व्यक्तिलाई भने ठाउँ अभावका कारण काठमाडौं प्रहरी परिसर लाने गरिन्छ ।
वृत्तको मुख्य भवनसँगै रहेका संरचना पनि क्षतिग्रस्त भएका कारण हाल पुनर्निर्माण भइरहेको छ । मुख्य भवन प्रबलीकरण गरेर प्रयोग गर्न सकिने प्राविधिकको निष्कर्ष छ । तर त्यसका लागि खर्च धेरै लाग्ने भएका कारण स्थानीयको सहयोगमा मर्मत हुँदै छ । विभिन्न संघसंस्थाको सहयोगमा वृत्तका लागि अस्थायी टहरा निर्माण भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश श्रीमलले जानकारी दिए ।
प्रदर्शनकारीले २४ भदौमा गौशाला वृत्तमा ढुंगामुढा र आगजनीमात्र गरेका थिएनन्, प्रहरीको हतियारसमेत लुटेका थिए । एक प्रहरी घाइते भएका थिए । प्रदर्शनकारी आक्रामक बनेपछि सुरक्षाका लागि प्रहरी विमानस्थलभित्र छिरेका थिए । तर केही घण्टामै उनीहरू फर्किएका थिए । धर्मशालाबाटै नागरिकलाई सेवा दिइरहे पनि प्रहरीलाई ड्युटीमा खटिन असजिलो भइरहेको एक प्रहरीले बताए । ‘धर्मशालामा गोपनीयता सुनिश्चित गर्न कठिनाइ छ । एउटा कोठामा हामी हुन्छौं, अर्कोमा सर्वसाधारण । आफ्नो सामान र फाइल सुरक्षित राख्न पनि समस्या छ,’ उनले भने ।
***
न्युरोडको विशालबजारभित्र रहेको प्रहरी वृत्त जनसेवा जलेपछि सांस्कृतिक भवनबाट सेवा सञ्चालन गरिएको छ । यो प्रहरी कार्यालय मातहत रहेका कार्यालयमध्ये काठमाडौं महानगरपालिका वडा–१८ ताम्सीपाखास्थित प्रहरी बिटबाहेक सबै जले ।
ताम्सीपाखाको कार्यालय भने गत भदौमा सांस्कृतिक शैलीमा पुनर्निर्माण गरिएको थियो । ‘मौलिक भवन भएकाले तोडफोड गर्न हुन्न भनेर स्थानीयले रोकेको देखियो,’ प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी कृष्णकुमार चन्दले भने, ‘आगजनी र तोडफोड गरिएका सबै बिट यसरी नै बनाउन स्थानीय तहसँग समन्वय भइरहेको छ ।’
आगजनी र तोडफोडमा परेका अन्यत्रका प्रहरी कार्यालय पुनर्निर्माण र मर्मतसम्भारमा स्थानीय समुदायले सहयोग गरेका छन् । ‘मर्मतसम्भारको नियमितबाहेक बजेट विनियोजन भएको छैन । २३ र २४ भदौको घटनामा क्षति पुगेका अधिकांश भवनको पुनर्निर्माण र मर्मतसम्भार स्थानीयकै सहयोगमा भइरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भने, ‘प्रहरी मेसका सामान, ओढ्ने–ओछ्याउनेसमेत स्थानीयले उपलब्ध गराएका छन् ।’
तस्बिरहरू : हेमन्त श्रेष्ठ, दीपक केसी, दिपेन श्रेष्ठ/कान्तिपुर
