रवि लामिछानेले जाँचबुझ आयोगको बयानमा के-के भने ?

लामिछानेले सबैतिर भीडभाड र हुलदंगा भएपछि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको दाबी गरेका छन्।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

What did Ravi Lamichhane say in his statement to the Commission of Inquiry?

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले जेन–जी घटना जाँचबुझ आयोगलाई करिब सात घण्टा बयान दिएका छन्। २४ भदौमा नख्खु कारागारमा भएको घटनाबारे आफ्ना भनाइ राखेका हुन्। करिब १ बजे बयानका लागि पुगेका लामिछाने साँझ ७ बजेमात्र फर्केका थिए।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँग जेलमा भएको आन्दोलनदेखि किन फर्कियौ भन्नेसम्मका प्रश्न आयोगले सोधेको थियो। उनलाई धेरै प्रश्न पत्रहरूबारे सोधिएको थियो। लामिछानेलाई जेलबाट बाहिर निकाल्न कारागारले दिएको भनी एक पत्र सार्वजनिक भएको थियो। उक्त पत्रले लामिछाने झन् विवादमा मुछिएका थिए।

पत्रबारे नख्खु कारागारका प्रमुख सत्यराज जोशीले आफूले तयार पारेको नभई जबरजस्ती हस्ताक्षर गराएको बयान दिएका थिए। यसबारे पनि आयोगले प्रश्न सोधेको थियो। जवाफमा लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारे थाहा पाएको भन्दै बयान दिएका छन्। उनले पत्र कारागार प्रशासनले नै तयार गरेको हुनसक्ने दाबी मात्र गरेको आयोगका एक सदस्यले बताए।

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन गरिएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भए पनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताएका छन्।

कारागार असुरक्षित भएकाले सबैलाई परिवारको जिम्मा लगाउने निर्णय भएर आफूलाई पनि कार्यकर्ताको जिम्मा लगाइएको दाबी गरे। उनले आफू सधैं कानुन पालना गर्ने पक्षमा भएकाले जेल फर्किएको दाबी गरे।

कारागारबाट बाहिर निस्कने बेलासम्म आफूलाई पत्रबारे कुनै जानकारी नभएको भन्दै उनले पछि मात्र त्यसबारे जानकारी पाएको जिकिर गरे।

‘कारागार प्रशासनले नै मलाई परिवार र रास्वपा नेताहरूको जिम्मा लगाएर छाडेको हो,’ रविले बयानमा भने, ‘म निस्कने बेलामा जेलरलाई नभेटेको हुँ, त्यस्तो अवस्थामा अरू केही पनि थाहा नभएको हो।’

कान्तिपुर

Link copied successfully