उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे । त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको स्वागतमा सम्मान गारत अर्पण गरेको थियो ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।
उनले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई मंगलबार सम्बोधन गरेका थिए । साथै उनले सम्मेलनअन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति पौडेलले मंगलबार नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । पौडेलले बुधबार कतार राष्ट्रिय संग्रहालयको पनि अवलोकन गरेका थिए ।
