भदौ २४ गते जसले घाइते भएर पनि हतियार जोगाए

प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुकुमार थापाले आन्दोलनकै क्रममा घाइते भएर पनि हातहतियार र टोली सुरक्षित गर्न सफल भएका छन्।

कार्तिक २०, २०८२

दीपक केसी, विवेक पोख्रेल

On Bhadra 24, those who were wounded but kept their weapons

What you should know

काठमाडौँ — जेन–जी आन्दोलनको क्रममा भएको आगलागी र तोडफोडले क्षति पुगेको काठमाडौंको कालीमाटी प्रहरी वृत्तका दुई भवन पुनर्निर्माणमा स्थानीयवासी जुटेका छन्। कालीमाटी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुकुमार थापाले आन्दोलनकै क्रममा घाइते भएर पनि हातहतियार र टोली सुरक्षित गर्न सफल भएका छन्।

प्रदर्शनका क्रममा प्रहरी वृत्त कालीमाटीमा भएको आगजनीले दुई भवनका ५८ कोठा जलेका थिए। करिब एक करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। अहिले स्थानीयको पहलमा पुनर्निर्माण सुरु गरिएको छ।

डीएसपी थापा भदौ २३ गतेको प्रदर्शनका दिन माइतीघर मण्डलामा खटिएका थिए। प्रदर्शन नियन्त्रणका क्रममा रड प्रहार हुँदा उनको दाहिने खुट्टामा चोट लागेको थियो।

‘मसलमा समस्या भएको रहेछ, चिकित्सकले १० दिन आराम गर्न भनेका थिए,’ उनले भने, ‘तर २४ गते बिहानै कालीमाटीमा आगलागीको खबर पाएपछि म टोलीसहित त्यहाँ पुगेँ।’

On Bhadra 24, those who were wounded but kept their weapons

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गर्नुपरेको थापाले बताए। ‘भीड नियन्त्रणबाहिर गइसकेको थियो, प्रदर्शनकारीले गेट तोड्दै मोटरसाइकल र गाडीमा आगो लगाए,’ उनले सम्झिए, ‘१९२ वटा मोटरसाइकलमध्ये धेरैजसो जलिसकेका थिए।’

थापाका अनुसार आगो निभाउने प्रयास गर्दा प्रहरीको पोसाकसमेत जलेको थियो। ‘सिसाको बोतलमा पेट्रोल मात्र होइन, केमिकल थियो जस्तो लाग्थ्यो, आगो निभाउन निकै कठिन भयो,’ उनले भने।

प्रदर्शन तीव्र बन्दा हातहतियार खोस्ने प्रयाससमेत भएको उनले बताए। ‘हामीले सबै हातहतियार सुरक्षित राखेर टोलीसहित काठमाडौँ प्रहरी परिसरमा पुर्‍यायौं,’ उनले भने।

On Bhadra 24, those who were wounded but kept their weapons

अघिल्ला आन्दोलनका अनुभव भएका थापा भन्छन्, ‘मधेश र थारु आन्दोलनमा पनि खटिएको अनुभवले यसपटक ठूलो क्षति हुनबाट बचायो।’

घटनापछि स्थानीयले प्रहरी वृत्त पुनः सञ्चालनका लागि नागरिक सुरक्षा समिति बनाए। समितिको नेतृत्वमा समुदायका प्रतिनिधि स्वयंअघि आएका छन्।

On Bhadra 24, those who were wounded but kept their weapons

‘धारा, मेसका भाँडा, खाद्यान्नदेखि मेस सञ्चालनका सबै सामान स्थानीयले जुटाइदिए,’ थापाले भने।

अहिलेसम्म समितिले झ्याल, ढोका, वाइरिङ, रंगरोगनलगायत काममा करिब ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ।

कार्यालय प्रयोजनका लागि आवश्यक कम्प्युटर, टेबल, दराजजस्ता सामग्री पनि समुदायबाटै प्राप्त भएको छ।

On Bhadra 24, those who were wounded but kept their weapons

कालीमाटी प्रहरी वृत्तअन्तर्गतका ५ वटा बिट र ३ वटा प्रभाग २५ गतेदेखि पुनः सञ्चालनमा आएका छन्।

डीएसपी थापाले भने, 'सबै प्रहरी अहिले जनसेवामा जुटेका छन् । तर भौतिक संरचना र महत्त्वपूर्ण कागजात जलेकाले पूर्ण रूपमा पुरानै लयमा फर्किन केही समय लाग्छ।’

On Bhadra 24, those who were wounded but kept their weapons

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully