महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्री र निर्वाचन अगाडि विशेष महाधिवेशनको निर्णय लिन फरमुल्लाह मन्सुरले प्रस्ताव राखेका छन् ।
काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री निर्वाचित नेता फरमुल्लाह मन्सुरले आगामी प्रतिनिधिसभा निर्वाचनमा गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन् ।
बुधबारको केन्द्रीय कार्यसमितिको बैठकमा मन्सुरले थापालाई भावी प्रधानमन्त्रीका रुपमा केन्द्रीय कार्यसमितिबाट निर्णय गराउनुपर्ने र विशेष महाविधेशन गर्नेपर्ने अर्को प्रस्ताव गरेका हुन् ।
उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित माग गरिसकेको अवस्थामा विशेष महाधिवेशन टारेर टार्न नसकिने बताए । त्यसका लागि तत्काल केन्द्रीय कार्यसमितिबाट निर्णय हुनुपर्ने उनको जोड थियो ।
योसँगै मन्सुरले संस्थापन पक्ष छाडेर महामन्त्री थापातिर लागेका छन् । उनले जेन–जी आन्दोनलले पुराना पार्टीको काम गर्ने शैली र तरिकामा परिवर्तन खोजेको भन्दै विशेष महाधिवेशनबाट पार्टीको नीति र नेता परिवर्तन गरेर मात्रै निर्वाचनमा जानुपर्ने थापाकै लाइनमा धारणा राखेका थिए ।
उनले संस्थापन पक्षको गुटको बैठकमा सहभागिता हुन छाडेकोसमेत बैठकमा जानकारी गराएका थिए । ‘निर्वाचन अगाडि कि पछाडि भनेर व्यक्तिगत रुपमा दुइटा प्रस्ताव आएका छन् । महामन्त्रीले प्रस्ताव गर्ने प्रचलन भएपनि सहमहामन्त्रीले एजेन्डा पेस गर्ने अभ्यास छैन,’ उनले भने, ‘आम कांग्रेसका बीचमा गगनकुमार थापा पार्टीको सभापति र प्रधानमन्त्री भए राम्रो हुन्थ्यो भनेर भनेका छन् । १४ औं महाधिवेशनमा लोकप्रिय मतसमेत ल्याएका छन् । त्यसैले थापालाई भावी प्रधानमन्त्रीका रुपमा निर्णय गरेर अघि बढायौं । कांग्रेसले निर्वाचनमा नयाँ नेतालाई अघि बढायौं ।’
