निकोलस भुसाललाई प्रहरीले गोरखा नगरपालिका–८ रानीवनबाट मंगलबार पक्राउ गरेको थियो ।
काठमाडौँ — आफूलाई सामाजिक अभियान्ता बताउने डा. निकोलस भुसालविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान थालेको छ ।
विभिन्न स्थानमा पत्रकार सम्मलन गरी सार्वजनिक शान्ति भंग गर्ने, हुलदंगा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा सर्वसाधारण जनमानसलाई भड्काउने तथा उक्साउने गरी नभए, नगरेको विषयमा अफवाह फैलाई सार्वजनिक शान्ति भंग गर्ने समेतका कार्यहरू गरेकोले उनीमाथि अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।
निकोलस भुसाललाई प्रहरीले गोरखा नगरपालिका–८ रानीवनबाट मंगलबार पक्राउ गरेको थियो । उनले सरकारले २३ र २४ भदौमा गोली चलाएर नागरिकको हत्या गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गृह प्रशासनले पक्राउ नगरेको भन्दै विरोध जनाउँदै आएका थिए।
माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका बेला उनी २३ असोजमा पक्राउ परेका थिए। अनुमति नलिई प्रदर्शनमा उत्रिएपछि प्रहरीले पक्राउ गरेको थियो भने त्यसपछि उनी गृहमन्त्री अर्यालविरुद्ध खरो टिप्पणी गर्दै आएका छन्।
माइतीघर मण्डलाबाट पक्राउ गरेपछि प्रहरीले उनले लागूऔषध सेवन गरेको–नगरेको समेत परीक्षण गरेको थियो। त्यस क्रममा उनले गाँजा सेवन गरेको पाइएपछि प्रहरीले सुधार गृहमा पठाएको थियो। तर, केही दिनपछि उनी झन् उग्र अभिव्यक्ति दिन थालेका थिए।
यसअघि २९ मंसिर २०८१ मा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेका बेला सुतिरहेको तस्बिर खिचेर सार्वजनिक गरेपछि समेत उनी पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा पक्राउ गरी अदालतमा उनीविरुद्ध मुद्दासमेत दायर भएको थियो । त्यसमा उनी ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
