भैरहवाको चारतारे होटलमा कसले चलायो गोली ? घटनाको पृष्ठभूमि के थियो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

सोमबार रातीको घटनापछि भैरहवा क्षेत्रका होटल व्यवसायीहरू चिन्तित छन् । यो घटना कसरी भयो अनि यसको पृष्ठभूमि के थियो र यो घटनामा नखुलेका तथ्य के के हुन् ?

कार्तिक १८, २०८२

दीपेन्द्र बडुवाल

Who opened fire at a four-star hotel in Bhairahawa? What was the background to the incident? Understand in five questions and answers

भैरहवा — रूपन्देहीको भैरहवास्थित चारतारे पुरानो लक्जरी होटल निर्वाणामा सोमबार मध्यराति १ बजे गोली चलेको खबर मंगलबार बिहान हावासरी फैलियो ।

सिद्धार्थ नगरपालिकाको मध्यभागमा रहेको क्यासिनोसहितको चारतारे होटलमा सोमबार मध्यरात दुई ग्राहक समूहबीच झगडा हुँदा गोली चलेको थियो  । होटल परिसरमा कसरी गोली चल्यो र यसका पछाडि के कस्ता कारण थिए भन्नेबारे मंगलबार साँझसम्म विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । मध्यरात घटनास्थलमा पुगेको प्रहरीले समेत किन र कसले गोली चलायो भन्नेबारे कुनै जानकारी दिएको छैन । सीमावर्ती सहर भैरहवाका अधिकांश तारे होटलमा क्यासिनो सञ्चालनमा छन् । ती होटलमा दिनहुँ भारतीय नागरिक क्यासिनो खेल्न आउँछन् । सोमबार रातिको घटनापछि भैरहवा क्षेत्रका होटल व्यवसायी चिन्तित छन् । यो घटना कसरी भयो अनि यसको पृष्ठभूमि के थियो र यो घटनामा नखुलेका तथ्य के के हुन् भनेर हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

होटल परिसरमा मध्यरातमा झगडाको वातावरण कसरी बन्यो ?

भैरहवाको पक्लिहवा रोडमा रहेको होटलमा सोमबार मध्यरातिसम्म ग्राहकको चहलपहल थियो । होटल परिसरमा रहेको क्यासिनोमा भारतीय नागरिकको आउजाउ भइरहेको थियो । त्यही बेला होटलको स्विमिङ पुल क्षेत्रमा बसेर खानपिन गरिरहेका नेपाली ग्राहक र भारतीय नागरिकबीच सुरु भएको विवाद झगडामा परिणत भयो । होटल व्यवस्थापनले दिएको जानकारी अनुसार झगडाको कारण नखुले पनि स्विमिङ पुलको डिलमा बसेर खानपिन गरिरहेका नेपाली ग्राहक र क्यासिना खेल्न आएका भारतीयबीच झगडा भएको हो ।

होटलको गेट बाहिर गोली कसरी चल्यो ? 

होटल परिसरमा झगडा बढेपछि एउटा समूह मोटरसाइकल लिएर होटलबाट बाहिरियो । त्यसलगत्तै अर्को समूह पनि होटलको गेटबाहिर पुग्यो । होटलको गेट र बजारको मुख्य सडकको बीचमा रहेको खाली क्षेत्रमा मोटरसाइकलमा निस्किएको समूह कुरेर बसेको थियो । अर्को समूह आउने वित्तिकै मोटरसाइकलमा सवारले हेल्मेटले हिर्काउन थाले । त्यसपछि त्यही भीडमा गोली चल्यो । तर, पहिलो गोली गेटको भित्तामा लाग्यो । त्यहाँबाट उछिट्टिएको छर्रा त्यहाँ रहेका सुरक्षा गार्ड मीनबहादुर परियारको खुट्टामा लाग्यो । छर्रा लागेका सुरक्षा गार्डको अवस्था सामान्य छ ।

घटनाको जानकारी प्रहरीले कतिबेला पायो ?

जिल्ला प्रहरीको दाबीअनुसार घटनालगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलबाट पाँच सय मिटरमा वडा प्रहरी कार्यालय रहेको छ । करिब एक किलोमिटर दूरीमा जिल्ला प्रहरी कार्यालय छ। घटना लगत्तै प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री, डीएसपी सुरज कार्की लगायतको टोली घटनास्थल पुगेको थियो । होटल व्यवस्थापनले पनि अनुसन्धानमा सघाउन प्रहरीलाई आवश्यक पर्ने सीसीटीभी फुटेज लगायत सामग्री उपलब्ध गराएको जनाएको छ ।

घटनापछि प्रहरीले के–के गर्‍यो ?

प्रहरीले मध्यरात नै होटल र आसपास क्षेत्र सिल गरेको जनाए पनि मंगलबार साँझसम्म गोली काण्डमा संलग्न पक्राउ गर्न सकेको छैन । गोली चलेको स्थानमा एउटा खोका फेला परेको छ । प्रहरीले पेस्तोलबाट गोली चलाएको अनुमान गरे पनि कस्तो खालको हतियार हो खुलिनसकेको जनाएको छ । होटलबाट ३/४ किलोमिटर दक्षिण भारतीय सीमाक्षेत्र छ । घटनामा संलग्न व्यक्ति भाग्न सक्ने जनाउँदै प्रहरीले सीमा क्षेत्रमा रातिदेखि कडाइ गरेको छ । प्रहरीले मंगलबार दिउँसो केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिए पनि उनीहरूको परिचय भने गोप्य राखेको छ ।

घटनाबारे अहिलेसम्म सार्वजनिक नभएका विषय के के हुन् ?

होटल व्यवस्थापनले नेपाली र भारतीय ग्राहकबीच झगडा भएको जनाएको छ । प्रहरीले होटलको गेटबाहिर दुई समूहबीच झगडा भएको दाबी गरिरहेको छ । मंगलबार साँझसम्म झगडा कसरी सुरु भएको थियो ? खुल्न सकेको छैन । झगडामा संलग्न नेपाली ग्राहक पनि क्यासिनो खेल्न गएका थिए वा थिएनन् भन्ने पनि प्रस्ट भइसकेको छैन । गोली काण्डमा प्रयोग भएको पेस्तोल कसले ल्याएको हो ? त्यसको कानुनी वैधताबारे थप खुल्न बाँकी नै छ । चारतारे होटलभित्र हतियारसहितका व्यक्ति कुन उद्देश्य र कसरी प्रवेश गरे भन्नेबारे पनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully