नेपालका राजदूत शंकर शर्माले मंगलबार भारतस्थित कतारी दूत मोहम्मद हसन जाबिर अल–जाबिरसँग भेट गरी उक्त घटनाबारे ध्यानाकर्षण गराएका हुन्।
काठमाडौँ — बर्लिनमा आयोजना हुने एक सम्मेलनमा सहभागी हुन जाँदै गरेकी नेपाली यात्रु साम्भवी अधिकारीलाई कतार एयरवेजले दिल्ली विमानस्थलमा अफलोड गरेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले त्यसबारे चासो व्यक्त गरेको छ।
नेपालका राजदूत शंकर शर्माले मंगलबार भारतस्थित कतारी दूत मोहम्मद हसन जाबिर अल–जाबिरसँग भेट गरी उक्त घटनाबारे ध्यानाकर्षण गराएका हुन्।
दिल्लीस्थित नेपाली नियोगका उपप्रमुख सुरेन्द्र थापाका अनुसार, राजदूत शर्माले भेटमा साम्भवी अधिकारीलाई दोहा हुँदै बर्लिन जान नदिएको घटनाबारे जानकारी मागेका थिए।
'कतारका दूतले दिल्लीस्थित कतार एयरवेज कार्यालयसँग सम्पर्क गरी घटनाको विवरण बुझ्ने र नेपाली नियोगलाई जानकारी गराउने प्रतिबद्धता जनाउनुभएको छ,' थापाले भने।
घटना असोज २४ गते (अक्टोबर १०) बिहानको हो। नेपाल वायुसेवा निगमका अनुसार साम्भवी अधिकारी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली पुगेकी थिइन्। त्यहाँबाट उनी कतार एयरवेजमार्फत दोहा हुँदै बर्लिन जाने योजना थियो।
अधिकारीले ट्रान्जिट चेक–इन गरेर कतार एयरवेजको बोर्डिङ पास लिएपछि टर्मिनल–३ मा पुगेकी थिइन्। त्यहीँ कतार एयरवेजका कर्मचारीले उनको कागजातबारे प्रश्न उठाएपछि विवाद सुरु भएको निगम स्रोतले जनाएको छ।
'बर्लिनबाट फर्किने टिकट र होटलसम्बन्धी डकुमेन्टबारे शंका गरिएको रहेछ,' निगमका एक अधिकारीले भने, 'ग्राउन्ड स्टाफले कागजात जाँच गरेपछि सुपरभाइजर बोलाइयो। सुपरभाइजरले पनि डकुमेन्ट अपूरो ठहर गर्दै दिल्लीमा जारी गरिएको बोर्डिङ पास च्यातीदिए।'
कतार एयरवेजले त्यसपछि एयर इन्डियाका कर्मचारीलाई 'उक्त यात्रुलाई नेपाल फिर्ता पठाउन' आग्रह गरेको थियो, तर एयर इन्डियाले अस्वीकार गरेको थियो। त्यसपछि विमानस्थलभित्रको नेपाल वायुसेवा निगम कार्यालयलाई सम्पर्क गरी यात्रुलाई फिर्ता लैजान भनिएको थियो।
निगमका दिल्ली विमानस्थल म्यानेजर भानुभक्त कट्वालले साम्भवी अधिकारीलाई जिम्मा लिँदै त्यही दिन बेलुकीको उडानमा काठमाडौं फर्काउन सघाएका थिए । १० हजार ७ सय ८४ रुपैयाँ तिरेर उनले आफैं टिकट खरिद गरेकी थिइन्।
दूतावासका अनुसार, साम्भवी अधिकारीले विमानस्थलबाटै दूतावासको हटलाइनमा सम्पर्क गरी आफूलाई बर्लिन जान रोकिएको जानकारी दिएकी थिइन् र त्यसपछि नेपाल फर्किएकी थिइन्।
नेपालले यस घटनाबारे औपचारिक रूपमा कतार नियोगसँग स्पष्टीकरण मागेको छ। कतारी पक्षले एयरलाइन्ससँग सम्पर्क गरी विवरण बुझ्ने आश्वासन दिएको छ।
