नेपालले मलेसियालाई पत्र पठाउँदै भन्यो : म्यानपावरको मापदण्ड स्वीकार गर्न सकिँदैन

मलेसियाले नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो ।

कार्तिक १८, २०८२

होम कार्की

Nepal sends letter to Malaysia, says manpower standards cannot be accepted

काठमाडौँ — नेपाल सरकारले मलेसियाबाट स्रोत देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड (अनिवार्य सर्त) स्वीकार गरी कार्यन्वयन गर्न नसिकने भन्दै मंगलबार कुटनीतिक पत्र पठाएको छ ।

मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो । त्यस मापदण्डअनुसार म्यानपावर कम्पनीको सिफारिस गर्न स्रोत देशलाई कार्तिक २७ गतेको समय सीमा दिएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया सरकारलाई कुटनीतिक पत्र पठाउँदै त्यस्तो सर्तहरु पुरा गर्न नसकिने बताएको हो ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री शुसिला कार्कीको निर्देशन अनुसार मलेसियाको प्रस्तावलाई अस्वीकार गरिएको हो । जेन जि विद्रोहपछि बनेको सरकारमा श्रम र परराष्ट्र दुवै मन्त्रालयको जिम्मवारी प्रधानमन्त्री कार्कीले समाल्दै आएकी छन् ।

‘नेपाल र मलेसियावीचको श्रम सम्झौताको नविकरणको प्रक्रियामा छ । नेपालको म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन र श्रम सम्झौता अनुसार मलेसियामा श्रमिक पठाउँदै आएको छ । यो अभ्यास  संवैधानिक व्यवस्था, राष्ट्रिय आप्रवासन नीति, वैदेशिक रोजगार कानुन,  द्विपक्षीय श्रम सम्झौता र अन्तराष्ट्रिय श्रम कानुन अनुसार भइरहेको छ,’ ती अधिकारीले भने,‘मलेसियाको प्रस्तावलाई स्वीकार गर्न कानुनी व्यवस्थाहरु परिवर्तन गर्नुपर्छ । अहिले नै कानुन परिवर्तन गर्ने सम्भावना छैन ।’

सरकारले श्रम सम्बन्धी बिषयलाई द्विपक्षीय वार्ता र समझदारी अनुसार अगाडि बढ्न सकिने जानकारी मलेसियालाई गराएको छ । ‘मलेसिया र नेपालवीच बलियो श्रम सम्बन्ध छ । दुवै देशले श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, मर्यादीत र व्यवस्थित गर्न चाहेको छ । यस बिषयसँग सम्बन्धीत कुनै बिषयमा छलफल गर्नु परेमा संवाद गर्नुपर्छ । यसको लागि संयुक्त प्राविधिक कार्य समितिको बैठ्क छ । यो वस्नुपर्छ,’ ती अधिकारीले कान्तिपुरलाई भने,‘हामी मलेसियामा नेपालीले पाउँदै आएको रोजगारीको सुनिश्चिताको बिषयमा संवेदनशील छौं ।’

प्रधानमन्त्री कार्कीले मलेसियाको रोजगारी र नेपालीको हित र सुरक्षाको लागि उच्च तहमा संवाद गर्न परराष्ट्र सचिव अमृतकुमार राईलाई निर्देशन दिएकी छन् । यस बिषयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित मलेसियाको कार्यवाहक राजदुतसँग कुटनीतिक छलफल गर्ने तयारी गरेको छ । ‘मलेसिया पठाउने बिषयमा श्रमिकसँग उच्च लागत शुल्क उठाइरहेको बिषयमा सुधार गर्नुपर्छ । यहाँ देखिएको समस्यालाई सम्बोधन गर्न नेपालले सवै उपाय अपनाउन पर्छ,’ श्रम सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिदै भनेकी छन् ।

मलेसियाको मापदण्डले एकाधिकार कायम हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । मलेसियाले पठाएको १० बुँदे मापदण्डमा लाइसेन्स (इजाजतपत्र) लिएको पाँच वर्ष हुनुपर्ने, पाँच वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफिटमा फैलिएको कार्यालय हुनुपर्ने, म्यानपावर कम्पनी सञ्चालकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्ने, बाध्यकारी श्रम, मानव तस्करी, श्रम कानुनको उल्लंघन, मुद्रा अपचलन र अन्य आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्ने लगायतका बिषय उल्लेख छ । 

सम्बन्धित अन्य समाचार

मलेसियाले पठाएको म्यानपावर मापदण्डप्रति सरकारको भनाइ : 'यो प्रस्ताव मात्र हो'

मलेसियाद्वारा कागजातविहीन श्रमिक र पीडित परिवारलाई सामाजिक सुरक्षा प्रदान

कहिले खुल्छ मलेसिया ?

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully