आन्दोलनप्रति राजनीतिक दल र नागरिक समाजको बुझाइ र आगामी बाटोको विषयमा छलफल
काठमाडौँ — जेन-जी मुभमेन्ट अलायन्सले विभिन्न राजनीतिक दलका नेता र नागरिक समाजका अगुवासँग संवाद गरेको छ । अलायन्सका अमित खनालका अनुसार, आन्दोलनप्रति राजनीतिक दल र नागरिक समाजको बुझाइ र आगामी बाटोको विषयमा सोमबार छलफल गरिएको हो ।
‘राजनीतिक दलबाट गगन थापा, नारायणकाजी श्रेष्ठ, सुशीला श्रेष्ठ, सरेन्द्र पाण्डे, उषाकिरण तिम्सेना, रन्जु दर्शनलगायत सहभागी हुनहुन्थ्यो, खगेन्द्र संग्रौला, रीता परियार, विश्वेन्द्र पासवान, बुधी कार्की, कुमार लामा टासी, नानु थामी, आन्विका गिरीको पनि सहभागिता थियो,’ उनले भने, ‘त्यसक्रमा जेनजीको नेतृत्वमा भएको आन्दोलनले सुशासन, स्थिरता र निष्पक्षताका मुद्दा सुनिश्चित गर्न समावेशी दीर्घकालीन सुधारको आवश्यकता औंल्याइएको छ ।’
आन्दोलनले राजनीतिक दल र वर्तमान राजनीतिक परिदृश्यलाई धक्का दिएको निचोड सुनाउँदै उनले भने, ‘अब चुनावमा जाने दलहरूले जेन-जीको माग र आकांक्षालाई समेट्नुपर्ने, पुस्तान्तरण र युवा नेतृत्वको आउनुपर्ने धारणा समेत व्यक्त भएको छ ।’
छलफलमा खगेन्द्र संग्रौलाले राजनीतिक दलहरूमा स्वतन्त्रता बाँकी रहेको भन्दै भने, ‘यिनीहरु धार्मिक संगठनझैँ सञ्चालन गर्न थालिएका छन्, जहाँ संवादको सट्टा भक्तिले र स्वतन्त्रताको सट्टा निष्ठाले ठाउँ ओगटेको छ । हाम्रो वास्तविक प्रश्न यो हुनुपर्छ, हामी राजनीतिक पार्टीलाई फेरि कसरी साँच्चिकै राजनीतिक संस्था बनाउन सक्छौं ?’
सोही क्रममा राजनीतिक दलका नेताहरूले आन्तरिक लोकतन्त्रको लडाइँ निरन्तर जारी राख्ने बताए । ‘जेन-जी आन्दोलनका एजेन्डाहरूमा सहमत रहँदै आन्दोलनलाई संस्थागत गर्न सहयोग गर्नेछौं, नयाँ पुस्ताको राजनीतिक हस्तक्षेप सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो भन्ने उहाँहरूको भनाइ रह्यो,’ खनालले भने ।
कार्यक्रममा सहभागी सबै पक्षले देशलाई निकास दिने बाटो चुनाव मात्र भएको निष्कर्ष सुनाउँदै त्यससँगै सुधारका लागि सहयोग गर्न तयार रहेको बताएको अलायन्सकी मोनिका निरौलाले बताइन् ।
