अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार करिब २४ करोड रुपैयाँ क्षति भएको व्यहोरासहित जाहेरी दिइएको हो ।
काठमाडौँ — २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
अख्तियारले मंगलबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार करिब २४ करोड रुपैयाँ क्षति भएको व्यहोरासहित जाहेरी दिइएको हो ।
२४ भदौमा टंगालस्थित अख्तियारको कार्यालयमा प्रवेश गरेर विधि विज्ञान प्रयोगशाला कक्ष,प्रशासन महाशाखामा आगजनी गरेका थिए । त्यस्तै,कम्प्युटर, ल्यापटप, मोबाइललगायतका उपकरणसमेत लुटपाट गरिएका थिए । पार्किङमा राखिएका सवारीसाधनसमेत प्रदर्शनकारीले जलाएका थिए ।
'लुटपाट आगजनी र तोडफोडमा भएको क्षतिको मूल्यांकन गरी दोषी उपर कारबाही गर्न जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका छौं । क्षति भएका प्रादेशिक कार्यालयहरुको हकमा सम्बन्धित कार्यालयहरुबाटै त्यहीँको प्रहरीमा जाहेरी दिन तयारी छ,' प्रवक्ता पौडेलले भने ।
अघिल्लो दिन (२३ भदौ) को प्रहरी दमनबाट १९ युवा–विद्यार्थी प्रहरी गोलीबाट मारिएपछि भोलिपल्ट (२४ भदौ) बिहानैदेखि विरोध र प्रदर्शन भएको थियो । अख्तियारभित्र प्रदर्शनकारीलाई छिर्न नदिन प्रहरीले हरप्रयास गरे पनि उग्र बन्दै आएको भीडले कार्यालयभित्र छिरेर विध्वंस मच्याएको थियो । आयोग बाहिरका क्षेत्रमा प्रदर्शनकारीबाट व्यापक आगजनी र तोडफोड हुन थालेपछि अख्तियारका कर्मचारी बाहिरिसकेका थिए । भित्र सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ थिए । बाहिर रहेको भीडलाई करिब ३ घण्टासम्म निरन्तर सम्झाउँदै–फर्काउँदै गरेर अख्तियारलाई सुरक्षाकर्मीले सुरक्षित राखेको थयो तर हाम्रो पछि उनीहरुको पनि केही लागेन । दिउँसो ४ बजेपछि भित्र छिरेर आगजनी, लुटपाट र तोडफोड हुन थाल्यो । सुरुमा बाहिर रहेका सवारी साधनमा आगो लगाइयो । त्यसपछि भित्र छिरेर लुटपाट मच्याइएको थियो ।
भदौ २४ को दिउँसो ४ बजेतिर अख्तियारभित्र छिरेको समूह सुरुमा लुटपाटमा केन्द्रित थियो । त्यस दिन क्षति हुन नपाएका सीसी क्यामेराका फुटेजअनुसार भित्र छिरेर ल्यापटप, कम्प्युटरलगायत उपकरण र डिभाइसहरू लुटपाट भएको देखिन्छ । अख्तियार छिरेको समूहले करिब ३ घण्टासम्म लुटपाट र तोडफोड गरिरह्यो । त्यसदिन अख्तियारमा संयोगले अनुसन्धानका फाइलहरूमा भने क्षति हुन पाएन । प्रशासन महाशाखा र फरेन्सिक ल्याब रहेका कोठा जलेर ध्वस्त भए पनि अनुसन्धानसँग जोडिएका फाइलहरू सुरक्षित भेटिए ।
अख्तियारमा आगजनी गरिसकेपछि त्यहाँबाट जल्न बाँकी रहेको एउटा गाडी (अख्तियारका कर्मचारी ओसारपसार गर्ने गाडी) प्रदर्शनकारीले लिएर डिल्लीबजार कारागार बाहिरसम्म पुर्याएका थिए । कारागारबाट कैदीबन्दी भगाउनलाई उक्त गाडी लगेको तर त्यहाँ सुरक्षाकर्मीले कैदी भगाउने प्रयास सफल हुन नदिएपछि भोलिपल्ट अख्तियारको गाडी सडक छेउमै अलपत्र अवस्थामा भेटिएको एक कर्मचारीले बताएका छन् ।
यसरी बिहानबाटै तोडफोड र आगजनीबाट जोगाइएको अख्तियार दिउँसो ४ बजेपछि सुरक्षाकर्मीको काबुबाहिर गएको थियो । अख्तियारका प्रवक्ता पौडेलका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ । १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन् । इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्याइएको छ । केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको छ ।
टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको छ ।
