बोर्डको १८ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ सम्म मृत्यु भएका १४ हजार ८ सय ४३ श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको हो।
काठमाडौँ — वैदेशिक रोजगार बोर्डले १७ वर्षभित्र वैदेशिक रोजगारीमा गई मृत्यु भएका १४ हजार ८ सय ४३ जना श्रमिकका परिवारलाई क्षतिपूर्ति (राहत आर्थिक सहायता) प्रदान गरेको जनाएको छ।
बोर्डको १८ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ सम्म मृत्यु भएका १४ हजार ८ सय ४३ श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको हो। यो क्षतिपूर्ति श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई स्वीकृतिको अवधि भित्र मृत्यु भएका श्रमिकका परिवारले मात्रै पाउँदै आएका थिए। पछिल्लो समयमा बोर्डले श्रम स्वीकृतिको अवधि समाप्त भएको एक वर्षभित्र मृत्यु भएका श्रमिकका परिवारलाई पनि क्षतिपूर्ति दिन थालेको छ।
बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार पीडित परिवारलाई सहज रूपमा क्षतिपूर्ति दिइरहेको छ। ‘हामीले आर्थिक सहायता पाउने रकमलाई पारदर्शी र अनलाइन सेवा दिइरहेका छौँ,’ उनले भने।
सबैभन्दा बढी क्षतिपूर्ति गत आर्थिक वर्षमा १,५४४ जना मृतक श्रमिकका परिवारलाई दिइएको छ। गत आर्थिक वर्षदेखि क्षतिपूर्ति १० लाख रुपैयाँ तोकिएको छ। त्यसअघि ७ लाख रुपैयाँ थियो।
यो अवधिमा बोर्डबाट ३,९२४ जना घाइते श्रमिकलाई उपचार खर्च प्रदान गरिएको छ।
गत आर्थिक वर्षसम्म बोर्डको श्रमिक कल्याणकारी कोषमा ७ अर्ब ५७ करोड रुपैयाँ मौज्दात थियो।
