मलेसियामा विदेशी श्रमिककाे संख्या १३ प्रतिशतले घट्यो

मलेसियाले कुल जनशक्तिको १५ प्रतिशत विदेशी श्रमिकका लागि कोटा छुट्याएको थियो, अहिले १० प्रतिशतमा झारेको छ ।

कार्तिक १७, २०८२

होम कार्की

Number of foreign workers in Malaysia drops by 13 percent

काठमाडौँ — मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ ।

मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा २१ लाख ३२ हजार ५७८ जना वैदेशिक कामदार वैध रूपमा कार्यरत छन् । गत वर्ष सोही अवधिमा यो संख्या २४ लाख ५२ हजार १० थियो । यस वर्ष ३ लाख १९ हजार ४३२ ले कमी आएको हो ।

अहिले सबैभन्दा बढी उद्योग क्षेत्रमा ६ लाख २२ हजार ३८८ कामदार कार्यरत छन् । त्यसपछि निर्माण क्षेत्रमा ५ लाख ८९ हजार ६८४, सेवा क्षेत्रमा ३ लाख ९० हजार ६०७, बाली/प्लान्टेसन क्षेत्रमा २ लाख ६३ हजार १३१, कृषि क्षेत्रमा १ लाख ५८ हजार ६२८, घरायसी सहयोगी (डोमेस्टिक हेल्पर) १ लाख ७ हजार ३७५ र खानी तथा ढुंगाखानी क्षेत्रमा ७६५ जना कार्यरत छन् ।

उपमन्त्री मोहम्मदले वैदेशिक श्रमिकको रोजगारीलाई लामो समयदेखि छ वटा औपचारिक क्षेत्रमा मात्र सीमित राखेको बताए । जसमा उद्योग, निर्माण, सेवा, बाली/प्लान्टेसन, कृषि, र खानी तथा ढुंगाखानी । यी क्षेत्रका उप–क्षेत्रहरू पनि सोही सीमाभित्र पर्छन् ।

मलेसियाले विदेशी श्रमिकको कोटा पनि घटाउँदै गएको छ । उसले कुल जनशक्तिको १५ प्रतिशत विदेशी श्रमिकको लागि कोटा छुट्याएको थियो । अहिले १० प्रतिशतमा झारेको छ । पछिल्लो घटेको संख्या देशगत हिसाबले सार्वजनिक गरिएको छैन ।

गत आर्थिक वर्षमा नयाँ श्रमस्वीकृति लिएर १० हजार नेपाली श्रमिक मलेसिया गएका थिए । ३८ हजार नेपाली श्रमिक पुनः श्रमस्वीकृति लिएर गएका थिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully