वार्तामा नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्ध, विकास सहयोग, व्यापार र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको छ ।
काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र बेलायतका राजदूत रोब फेनले सोमबार सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् ।
उक्त अवसरमा मन्त्री सिन्हाले नेपालको हालको विकसित अवस्थामा सरकारले सुशासन, जवाफदेहिता तथा पारदर्शी शासन प्रणालीप्रति लिएको प्रतिवद्धता बारेमा व्यक्त गरे । उनले युवा पुस्ताद्वारा प्रारम्भ भएको परिवर्तनको चाहना र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै आगामी प्रतिनिधि सभा निर्वाचन (५ मार्च २०२६) लाई प्रमुख राष्ट्रिय कार्यसूचीका रूपमा अघि बढाइरहेको जानकारी दिए ।
उक्त भेटवार्तामा नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्ध, विकास सहयोग, व्यापार र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भयो । मन्त्री सिन्हाले विगतदेखि नै बेलायतले नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा निरन्तर प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।
साथै, सन् २०२४ मा हस्ताक्षर भएको ग्रीन ग्रोथ नेपाल र नेपाल इन बिजनेस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नेपालको हरित उद्योग, समावेशी विकास र गरीबी निवारणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सो सम्बन्धमा राजदूत फेनले व्यापार, लगानी, बौद्धिक सम्पत्ति सम्बन्धी अधिका र पर्यटन क्षेत्रमा सहकार्य र सहयोगका लागि बेलायत तयार रहेको जानकारी गराए ।
नेपालले सन् २०२६ मा अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यका सन्दर्भमा दुवै पक्षबीच निरन्तर सहकार्य र आपसी समझदारी बढाउने सहमति भयो । दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनका लागि निरन्तर समन्वय कायम रहने विषयमा मन्त्री सिन्हा र राजदूत फेनले साझा धारणा व्यक्त गरे ।
