'जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग पाइनँ : ‌‌ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीको पूरा अन्तर्वार्ता 'फायरसाइड' कार्यक्रममा आज सोमबार राति ९ बजे प्रसारण हुँदैछ । कार्यक्रम कान्तिपुर टीभी एपमा पनि हेर्न सकिनेछ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

'I did not receive adequate information and support from security agencies during the Gen-G movement: Oli'

काठमाडौँ — तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट पर्याप्त सूचना र सहयोग नपाएको बताएका छन् ।

भदौ २२ गते साँझ भएको बैठकदेखि २३ गते लिएका ब्रिफिङमा समेत सुरक्षा निकायले आन्दोलनका बारेमा आवश्यक सूचना नदिएको भन्दै ओलीले नेपाली सेनाले मानवीय र भौतिक क्षति रोक्ने काम नगरेको आरोप लगाए । कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै एमाले अध्यक्ष ओलीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाको जिम्मेवारी आफ्नै भए पनि नेपाली सेनाले त्यसको सुरक्षा गर्ने तत्परतासमेत नदेखाएकामा शंका उब्जिएको बताएका छन् ।

भदौ २३ गते जेन-जीको आन्दोलनका क्रममा भएको दमनको निष्पक्ष छानबिन भए त्यसमा सघाउन आफू तयार रहेको बताउँदै ओलीले आफू दोषी देखिए कारबाही भोग्न पनि तयार रहेको जिकिर गरे । तर सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोग भने नमान्ने उनले दोहोर्‍याए । 

वर्तमान सरकार असंवैधानिक रहेको बताउँदै आएका ओलीले प्रधानमन्त्री कार्कीले आफूसँग संवाद नै गर्न नचाहेकामा प्रश्न उठाएका छन् । सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नरहेको पनि उनको आरोप छ । प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने कार्यमा नेपाली सेना र राष्ट्रपतिकै भूमिकासमेत शंकारहित नरहेको ओलीको भनाइ छ ।

प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अर्को विकल्प नरहेको भन्दै एमाले अध्यक्ष ओलीले त्यसका लागि आफू न्यायिक प्रक्रिया र सडक आन्दोलन दुवैको तयारीमा रहेको बताएका छन् । अध्यक्ष ओलीको पूरा अन्तर्वार्ता  'फायरसाइड' कार्यक्रममा आज सोमबार राति ९ बजे प्रसारण हुँदैछ । कार्यक्रम कान्तिपुर टीभी एपमा पनि हेर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully