भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको छ।
काठमाडौँ — कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर राजदूत भोल्जले उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन्।
भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको थियो । कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गरे। उनले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा रहेको बताए।
संघीय गणतन्त्र जर्मनी नेपालका प्रमुख विकास तथा व्यापार साझेदारमध्ये एक रहेको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले सन् १९६१ देखि प्राप्त हुँदै आएको जर्मन सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय मुद्दामा जर्मनीले बहुपक्षीय मञ्चमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि आपसी हितका विषयमा सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
राजदूत भोल्जले नेपाल–जर्मनी सम्बन्ध अत्यन्तै घनिष्ट र बलियो रहेको उल्लेख गर्दै नेपालको सरकारलाई जर्मनीको निरन्तर समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
