गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोली भदौ २४ गते कारागारमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागार पुगेको हो ।
काठमाडौँ — भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोग नख्खु कारागार भ्रमणमा पुगेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको टोली भदौ २४ गते कारागारमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागार पुगेको हो ।
आइतबार जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीको बयान लिएको थियो । उक्त बयानका आधारमा वस्तुस्थिति अध्ययन र घटनाको प्रतिवेदन तयार गर्नलाई पुगेको छ ।
उक्त कारागारमा रास्वपाका सभापति रवि लामिछानेसहितका बन्दीहरु रहेका छन् ।
५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । यो आयोगलाई तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समयसीमा दिइएको छ ।
जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरी गरी ७६ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा सरकारी, निजी र व्यापारिक संरचनामा लुटपाट र आगजनी भएको थियो ।
