निषेधित क्षेत्रमा विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही

विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि मल्टिएड्भेन्चर प्रालिलाई ४० हजार रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Action taken against trekking agency that takes foreign tourists to prohibited areas

काठमाडौँ — अध्यागमन विभागले पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही गरेको छ।

विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि मल्टिएड्भेन्चर प्रालिलाई ४० हजार रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो। एजेन्सीले जर्मन नागरिक मार्टिन श्रामलाई ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पदयात्रा गराएको थियो।

नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्ने कानुनी व्यवस्था छ। अध्यागमन नियमावली, २०५१ अनुसार पदयात्रा गर्न चाहने विदेशी नागरिकले ट्रेकिङ एजेन्सीमार्फत विभागमा निवेदन दिनुपर्ने व्यवस्था छ।

तर मल्टिएड्भेञ्चर प्रालिले सो व्यवस्थाको उल्लङ्घन गर्दै २५ अक्टोबरदेखि १० दिनका लागि अनुमति लिएकोमा अनुमति अवधिभन्दा एक दिन अगावै विदेशी पर्यटक श्रामलाई निषेधित क्षेत्रमा पुर्‍याएको पाइएको विभागले जनाएको छ।

कम्पनीको तर्फबाट ट्रेकिङ गाइड दाईला शेर्पा विदेशी नागरिकलाई लिएर पदयात्रामा गएका थिए। शेर्पामाथि समेत आवश्यक कारबाहीका लागि पर्यटन बोर्डमा पत्राचार गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन्।

नेपाल सरकारले सुरक्षात्मक र सीमा संवेदनशीलताको कारण देखाउँदै देशका १५ जिल्लाभित्रका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। तीमध्ये माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनास्लु क्षेत्र, ताप्लेजुङको कञ्चनजंघा, दोलखाको गौरीशंकर–लामाबगर क्षेत्र, संखुवासभाको किमाथांका, गोरखाको छेकम्पार र चुञ्चेतलगायतका क्षेत्र छन्।

कान्तिपुर

Link copied successfully