सवारी लाइसेन्ससम्बन्धी आंशिक सेवा सञ्चालनमा

उपत्यकाका अन्य कार्यालयसहित देशभर सेवा सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी छ ।

कार्तिक १६, २०८२

विमल खतिवडा

Partial service related to driving licenses in operation

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा आंशिक रुपमा सञ्चालनमा आएको छ ।

जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण नयाँ बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी भएपछि सबै सेवा ठप्प बनेको थियो । विभागका निर्देशक केशव खतिवडाका अनुसार आइतबार उपत्यकाका तीन वटा यातायात व्यवस्था कार्यालय (चाबहिल, राधेराधे र एकान्तकुना) बाट लाइसेन्सको नवीकरण सेवा सञ्चालन हुन थालेको हो ।

'उपत्यकाका अन्य कार्यालयसहित देशभर यो सेवा सुरु गर्ने गरी तयारी भइरहेको छ,' उनले भने, 'केही दिनभित्रमा सबै कार्यालयबाट लाइसेन्सको आवेदनदेखि ट्रायल, नवीकरणसहित सम्पूर्ण सेवा सुरु हुनेछ ।'

तोडफोड र आगजनीमा विभागको सर्भरमा समेत क्षति पुगेपछि सेवा रोकिएको थियो । घटनापछि देशभर ४२ वटा यातायात व्यवस्था कार्यालयको सेवा अवरुद्ध बनेको छ ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully