प्रभावित क्षेत्र पुगेका मन्त्री कुलमान घिसिङले स्थानीयका माग चाँडै पूरा गराउन आफू प्रतिबद्ध रहेको बताएका थिए ।
काठमाडौँ — सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका स्थानीयसँग सहमति गरेपछि अब काठमाडौं उपत्यकाको फोहोर उठ्न भएको छ ।
फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं उपत्यकामा घरबाट निस्किएको फोहोरले दुर्गन्ध निम्तिएको छ । मन्त्री घिसिङ प्रभावित क्षेत्रमा पुगेर स्थानीयका माग चाँडै पूरा गराउन आफू प्रतिबद्ध रहेको बताएका थिए । मन्त्रीले आश्वासन मात्र नभई कार्यान्वयन नै गर्ने बताएका थिए ।
फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेको थियो ।
टोलीले फोहोर विर्सजन स्थलको स्थलगलत निरीक्षण गर्नुका साथै साइट पर्ने धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्ष र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।
विगतका सहमति कार्यान्वयन गर्ने, स्थानीय स्तरबाट उठेका माग दमनबाट नभई सौहार्दपूर्ण वातावरणमा सहमतिमा लैजाने मन्त्री घिसिङको भनाइ थियो । सहमति कार्यान्वय प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै उनले फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए । ‘फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्छौं, अल्पकालीन रुपमा गर्न सकिने काम काम तत्काल अगाडि बढाउँछौं, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्छौं,’ उनले भनेका थिए ।
विवाद समाधानका लागि एक समिति पनि बनाइनेछ । समितिमा काठमाडौं महानगरपालिका, सहरी विकास, प्रभावित स्थानीय तह र बासिन्दा रहनेछन् । यस्तै ल्यान्डफिल क्षेत्रमा बत्तीको व्यवस्थापन पनि गरिने मन्त्रीका प्रेस संयोजक सचेन गौतमले बताए । रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक बत्तीको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै बत्ती राख्न सुरु गरिने बताएका छन् । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिएका छन् ।
यसअघि ०७९ मा सरकार र स्थानीयवासीबीच भएको १८बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले आक्रोश पोख्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।
