कारागार प्रमुख सत्यराज जोशीले बिहानैदेखि नख्खु कारागारमा भदौ २४ गते तोडफोड र आगजनीको प्रयास भएको र संयमता अपनाउँदा अपनाउँदै काबु बाहिरको परिस्थिति बनेको बयान आयोगमा दिएका छन् ।
काठमाडौँ — भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले नख्खु कारागारका तत्कालीन प्रमुख सत्यराज जोशीको बयान लिएको छ ।
भदौ २४ को प्रदर्शनका क्रममा नख्खु कारागारमाथि भएको तोडफोड, आगजनी तथा फरार भएका कैदीबन्दी र घटनाको वस्तुस्थितिबारे आयोगले आइतबार बयान लिएको हो ।
आयोगका एक सदस्यका अनुसार करिब दुई घन्टा नख्खु कारागारमा २४ गतेको घटनाको सम्पूर्ण विवरणसहितको बयान तत्कालीन प्रमुखले दिएका हुन् । कारागार प्रमुख जोशीले बिहानैदेखि नख्खु कारागारमा त्यस दिन तोडफोड र आगजनीको प्रयास भएको र संयमता अपनाउँदा अपनाउँदै काबु बाहिरको परिस्थिति बनेको बयान आयोगमा दिएका छन् । उक्त कारागारमा रास्वपाका सभापति रवि लामिछानेसहितका बन्दीहरु राखिएको थियो र कतिपय घटनाहरु नियोजितझैँ देखिएको उनले बयानमा उल्लेख गरेका छन् ।
उनले केही कैदीबन्दीहरुलाई परिवारको जिम्मा लगाएको तर अधिकांश कैदीहरु भने हुलमुलको फाइदा उठाउँदै फरार भएको दाबी गरेका छन् ।
जेन–जीको अगुवाईमा भएको भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्टको प्रदर्शन भड्किएपछि उक्त कारागार पनि निशानामा परेको थियो । प्रमुखले बयानका क्रममा लामिछानेसहित केही कैदीहरु स्वत: कारागार फर्किएको र फरार रहेका केहीलाई पक्राउ गरिएको तथा हालसम्म फरार रहेकाहरुको खोजी जारी रहेको बताएका छन् ।
