वर्षाले क्षतिग्रस्त सडकको अवरोध खुलेन

मेची पहाडबाट तराई जोड्ने मुख्य सडकहरू अवरुद्ध भएपछि जनजीवन कष्टकर बनेको छ।

कार्तिक १५, २०८२

लक्ष्मी गौतम

Roadblocks damaged by rain not cleared

पाँचथर — अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेका मेची राजमार्ग र तमोर करिडोर सडक शनिबार पनि सञ्चालनमा आउन सकेका छैनन्। मेची पहाडबाट तराई जोड्ने मुख्य सडकहरू अवरुद्ध भएपछि जनजीवन कष्टकर बनेको छ।

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढी र मेची राजमार्गको इलाम खण्ड अन्तर्गत राजदुवाली क्षेत्रमा पहिरोले खण्डहर भएको सडक भासिँदा सडक अवरुद्ध बनेका हुन्। यहाँ पानी पर्न अझैसम्म रोकिएको छैन। 

वर्षा नरोकिएका कारण तमोर करिडोर सडकको नावा खोलामा आएको बाढीबाट पुगेको क्षति व्यवस्थापन गर्न कठिनाइ भइरहेको तमोर करिडोर आयोजनाले जनाएको छ । यस्तै, तमोर करिडोर सडकको फिदिम र कुम्मायक सीमावर्ती सिवा खोला दोभानमा कुम्मायक तर्फको सडक भत्किएकाले ठुला गाडी गुडाउन सक्ने अवस्था छैन ।

त्यस्तै, मेची राजमार्गको राजदुवाली खण्डको अवरोध हटाउन सडक डिभिजन इलाम र नेपाली सेनाले शनिवारदेखि प्रयत्न गरिरहे पनि सम्भव हुन नसकेको डिभिजन प्रमुख पवन भट्टराईले बताए। यहाँ साना गाडी गुडाउन सक्ने अवस्था सिर्जना गर्न आफूहरू प्रयत्नशील रहेको उनको भनाइ छ। 

यस्तै, फेमे खोलामा आएको बाढीका कारण अवरुद्ध भएको फिदिम-फालौट सडक खण्ड पनि शनिवारसम्म सञ्चालनमा आएको छैन । यहाँ पानीको मात्रा घट्नासाथ डाइभर्सन र सडक मर्मत गरेर यातायात चलाउने योजना भइरहेको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ । 

मुख्य सडकहरू नै अवरुद्ध भएपछि जनजीवन कष्टकर बनेको छ। छिमेकी जिल्ला तथा तराईसम्म झर्ने यात्रु मर्कामा परेका छन्। 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully