२० हजार नगद राशिसहितको उक्त पुरस्कार कुँवरलाई पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र संघका अध्यक्ष फुर गेल्जे शेर्पाले हस्तान्तरण गरेका थिए ।
काठमाडौँ — नेपाल पर्वतारोहण संघले यस वर्ष दावा नोर्बु माउन्टेन जर्नालिज्म अवार्ड कान्तिपुरका पर्यटन-उड्डयन संवाददाता सुरज कुँवरलाई प्रदान गरेको छ ।
संघको ५२औं वार्षिकोत्सका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा २० हजार नगद राशिसहितको उक्त पुरस्कार कुँवरलाई पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र संघका अध्यक्ष फुर गेल्जे शेर्पाले हस्तान्तरण गरेका थिए ।
त्यस्तै अनलाइनतर्फ पवन फुँयाललाई पनि २० हजार नगदसहित दावा नोर्बु माउन्टेन जर्नालिज्म अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी ८,००० मिटरभन्दा माथिका सबै १४ शिखरहरूमा डाउन फेदर पोसाकबिना आरोहण गरी नयाँ इतिहास रचेका मिङ्मा तेन्जी शेर्पालाई कुमार खड्ग विक्रम शाह एड्भेन्चर अवार्ड, विश्वको दोस्रो उच्चतम् शिखर केटू मा ६ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका सिद्धिबहादुर तामाङलाई डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी, सगरमाथा आरोहण गर्ने नेपालकी पहिलो महिला प्रहरी अधिकारी सव-इन्स्पेक्टर कुञ्जाङ छोपेल शेर्पालाई पासाङ ल्हामु शेर्पा एड्भेन्चरस वुमन माउन्टेनियर अवार्डबाट सम्मान गरिएको थियो । पर्वतारोहीहरुलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।
त्यसैगरी, संघले लेखा सहायक प्रमिला सिग्देललाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरेको थियो । संघले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा कीर्तिमानी पर्वतारोही, पर्वत पर्यटनसँग सम्बन्धित संस्था, पत्रकार तथा कर्मचारीहरूलाई संघका प्रतिष्ठित व्यक्तित्वहरूको नाममा स्थापित पुरस्कारद्वारा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ ।
