तिलिचो बेश क्याम्पमा फसेका पर्यटकको सशस्त्र प्रहरीले गर्‍यो उद्धार

चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममा नै बसेको थापाको भनाइ छ ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Armed Police rescue tourists trapped in Tilicho Besh Camp

काठमाडौँ — मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक  पर्यटकको शनिबार बिहान सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

यसअघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरि १३ जना मात्र रहेको फेला परेको छ । 

उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि शुक्रबार त्यसतर्फ गएको थियो । 

पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालीलाई चामेतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेश क्याममा नै बसेको थापाको भनाइ छ ।

कान्तिपुर

Link copied successfully