हिरासतमुक्त भए अर्जुन शाही

प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान गरेर प्रक्रिया अघि बढाएकोमा पीडितको माग बमोजिमको रकम बुझाएर उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Arjun Shahi released from custody

काठमाडौँ — जेन–जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका अर्जुनबहादुर शाही छुटेका छन् ।

प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान गरेर प्रक्रिया अघि बढाएकोमा पीडितको माग बमोजिमको रकम बुझाएर उनी छुटेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए । 'अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएका थियौं, त्यसपछि १० लाख रुपैयाँजतिको विषयमा पीडितपक्षसँग सहमति भएपछि उहाँ चार दिनअघि छुट्नुभएको हो', उनले भने ।

छुटेपछि शाहीले चाहिँ उनको चरित्र हत्या गर्ने कोसिस भएको दाबी गरेका छन् । 'सत्य नै मेरो एकमात्र कानुन हो । देश र जनतालाई केन्द्रमा राखेर कार्य गर्न म कहिल्यै पछि हटेको छैन र हट्ने छैन,' उनले भनेका छन् ।

जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गरेको भन्दै प्रहरीकहाँ गुनासो पुगेको थियो । नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुलेसमेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी इलाम–२ मा भएको उपचुनावमासमेत उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएर उनले ५५ मत ल्याएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully