निषेधित क्षेत्रको अनुमतिमा सावधानी अपनाउन टानको पर्यटकलाई आग्रह

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सदस्य एजेन्सीहरूलाई पर्यटक तथा पदयात्रीहरूलाई निषेधित क्षेत्रमा पठाउने निर्णय गर्नुअघि मौसमी अवस्थाको सावधानीपूर्वक मूल्यांकन गर्न आग्रह गरेको छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

TAAN urges tourists to exercise caution when entering restricted areas

काठमाडौँ — ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना सदस्य एजेन्सीहरूलाई निषेधित क्षेत्रमा जाने पर्यटकको पदयात्रा अनुमति पत्र सम्बन्धमा सूचना जारी गर्दै हाल देशभर भइरहेको असिना, हिउँपात र पहिरो जस्ता प्रतिकूल मौसमी अवस्थाका कारण सावधानी अपनाउन अनुरोध गरेको छ ।

महासचिव सोनाम ग्याल्जेन शेर्पाद्वारा हस्ताक्षरित सूचना अनुसार, विभिन्न जिल्लाहरूमा निरन्तर परेको भारी वर्षा र हिउँका कारण निषेधित क्षेत्रभित्रका पदयात्रा मार्गहरू प्रभावित भएका छन् । यसबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहहरूले पनि सतर्कता सूचना जारी गरेका छन् ।

यस कारण टानले सदस्य एजेन्सीहरूलाई पर्यटक तथा पदयात्रीहरूलाई निषेधित क्षेत्रमा पठाउने निर्णय गर्नुअघि मौसमी अवस्थाको सावधानीपूर्वक मूल्यांकन गर्न आग्रह गरेको छ । साथै, स्थानीय निकाय तथा प्रशासनबाट जारी सूचनाहरूमा ध्यान दिन र यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन टान केन्द्रिय कार्यालयले अनुरोध गरेको छ।

टानका अनुसार, प्रभावित जिल्लाहरूमा हाललाई निषेधित क्षेत्र पदयात्रा अनुमति पत्र जारी वा स्वीकृत नहुने अवस्थासमेत आउन सक्छ । त्यसैले टानले आफ्ना सदस्यहरूलाई सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहन तथा आपतकालीन अवस्थाहरूमा टानका जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ । जसमा सागर पाण्डे, अध्यक्ष, सोनाम ग्याल्जेन शेर्पा, महासचिव, बिक्रम गुरुङ, विभाग संयोजक, किरणप्रसाद आचार्य, अध्यक्ष, टान गण्डकी र रामचन्द्र सापकोटा, टानका प्रमुख कार्यकारी अधिकृत छन् । 

टानले कठिन समयमा पदयात्राबाहक एजेन्सीहरूबीच समन्वय, सूचना आदानप्रदान र सुरक्षाप्रति सचेत रहन विशेष आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully