देशभरका ११ स्थानमा राजमार्ग अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

यातायात अवरुद्धका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने मालसामान ढुवानीमा पनि असर परेको छ ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Highways blocked at 11 locations across the country, travelers urged to use alternative routes

काठमाडौँ — वर्षा र बाढीपहिरो शुक्रबार बिहानसम्म देशका धेरै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।  नेपाल प्रहरी ट्राफिक व्यवस्थापन महाशाखाले शुक्रबार बिहान १० बजे प्रकाशित गरेको सूचनाअनुसार कुल ११ स्थानमा राजमार्ग अवरुद्ध रहेका छन् ।

प्रहरीका अनुसार कोशी प्रदेशमा मात्र पाँच स्थानमा सडक अवरुद्ध भएका छन् । संखुवासभाको भोटखोला गाउँपालिका–४ शरण खोला, इलाममा मेची राजमार्ग, पाँचथरमा च्याङथापु–भोटखोला सडकखण्ड, ओखलढुंगाको मनमायाँ–सिद्धिचरण सडकखण्ड लगायतका क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ ।

त्यस्तै बागमती प्रदेशमा काभ्रेपलान्चोक, सिन्धुली, नुवाकोट, रामेछाप र रसुवामा गरी पाँच स्थानमा सडक अवरुद्ध भएका छन् । गोसाईकुण्ड–स्याफ्रुबेँसी, नारायणथुम–मुल्खार, खाँडादेवी–ठोक्सेचौर लगायतका सडकखण्डमा पहिरोका कारण आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशमा म्याग्दी र मुसिकोटमा दुई स्थानमा, लुम्बिनी प्रदेशमा अर्घाखाँचीमा एक स्थानमा, र कर्णाली प्रदेशमा डोल्पाको त्रिपुरासुन्दरी–खोलगाउँ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

नेपाल प्रहरीले भनेको छ,'अवरुद्ध सडकहरूमा मर्मत र सडक खुलाउने कार्य जारी छ, तर तत्कालका लागि यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।' यातायात अवरुद्धका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने मालसामान ढुवानीमा पनि असर परेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully