दाउन्ने सडकखण्डमा दोहोरो यातायात सञ्चालन

दाउन्ने सडकखण्डमा सामान्य वर्षा हुनासाथ घण्टौं जाम हुने समस्या छ

कार्तिक १३, २०८२

नारायण शर्मा

Two-way traffic operation on Daunne road section

नवलपरासी — पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड मर्मत गरी केही बेर अघिदेखि दोहोरो यातायात सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमन सिंहरानाका अनुसार सामान्य वर्षाका कारण राजमार्ग हिलाम्मे भएर पटक–पटक अवरुद्ध हुने दाउन्ने सडकखण्डमा ग्राभेल राखेर केही बेर अघिदेखि दोहोरो यातायात सञ्चालन भइरहेको छ ।

बुटवलबाट नारायणगढतर्फ आउने गाडीहरू सहज रूपमा आइरहेका छन् । नारायणगढबाट बुटवलतर्फ जाने गाडीका लागि आलोपालो पठाउने व्यवस्था मिलाइएको छ ।

सामान्य झरी पर्नासाथ राजमार्ग फेरि चिप्लो हुने भएकाले आउजाउमा समस्या देखा पर्छ । कच्ची सडकमा ग्राभेल राखेर राजमार्ग सहज बनाइएको हो ।

निर्माणाधीन बुटवल–नारायणगढ सडक अन्तरगत पर्ने दाउन्ने पहाडको १४ किलोमिटरमध्ये ९ किलोमिटर सडक क्षेत्र खाल्डाखुल्डी छ ।

राजमार्ग निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेमा काम नगरेको कारण सामान्य वर्षा हुनासाथ घण्टौं जाम हुने गरेको छ । पूर्वी नवलपरासीमा बिहीबार दिउँसो १२ बजेदेखि वर्षा रोकिएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully