खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुधबार सुनारको बयान र थुनछेक बहसपछि ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कार्तिक १३, २०८२

ज्योती श्रेष्ठ

Khagendra Sunar ordered to be released on bail of Rs 50,000

काभ्रे — विद्युतीय कारोबार मुद्दाका अभियुक्त खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा बुधबार हाजिर भएका सुनारको बयान र थुनछेक बहसपछि न्यायाधीश नगेन्द्र कालाखेतीको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा विद्युतीय कारोबार मुद्दामा सुनार फरार प्रतिवादीका रूपमा रहेकाले मन्त्रीमा सिफारिस भएपछि उनको नाम सार्वजनिक भएको र त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो ।

काभ्रे अदालतले ५ साउनमा दैलेख प्रहरीलाई पक्राउ अनुमति सहित पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको र त्यसको स्क्रिन सट प्रमाणसहित विद्युतीय कारोबार ऐन अन्तर्गत काभ्रेमै मुद्दा दायर गरेकी थिइन् ।

सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, वाल्मीकि आउजी, नारायण बुढापृथी, गणेश बराइली र रामबहादुर मिजारले बहस गरेका थिए । वादीको तर्फबाट सहन्यायाधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन् ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully