धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव छ ।
What you should know
काठमाडौँ — बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
विभागअन्तर्गतकै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार कोशी, मधेश, बागमती र लुम्बिी प्रदेशका केही जिल्ला भई बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि कोशी, मधेश र बागमती प्रदेश भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ ।
त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखाएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म यात्रा नगर्नसमेत अनुरोध गरेको छ ।
त्यस्तै प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणको सुझाव छ । त्यस्तै धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणको सुझाव छ ।
