खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, ५ विमान डाइभर्ट भए

कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइयो, छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्स चीनतर्फ नै फर्कियो

कार्तिक १३, २०८२

सुरज कुँवर

Flights at Tribhuvan International Airport affected due to bad weather, 5 flights diverted

काठमाडौँ — खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ । विमानस्थल अधिकारीका अनुसार दृश्यता दुई हजार मिटरभन्दा तल झरेपछि तीन अन्तर्राष्ट्रिय र एक आन्तरिक उडान अन्य गन्तव्यतर्फ मोडिएका छन् ।

नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ ।

सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको विमानस्थलका एक अधिकारीले जनाएका छन् । त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।

आन्तरिकतर्फ, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ । ती अधिकारीका अनुसार हवाई मार्गमा देखिएको मौसमी अवरोध र न्यून दृश्यता नै उडान मोडिनुको प्रमुख कारण बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक झन्डै तीन सय उडानहरू (आन्तरिक र अन्तर्राष्ट्रिय गरी) सञ्चालन हुने गर्छन् । करिब तीस हजार यात्रु यहाँबाट आवतजावत गर्छन् । मौसममा सुधार आएपछि नियमित उडान सञ्चालन सुचारु हुने विमानस्थलले जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully