दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौं जाम हुने गरेको छ ।
नवलपरासी — सामान्य वर्षाका कारण राजमार्ग चिप्लो भएर बिहान तीन बजेदेखि अवरुद्ध रहेको दाउन्ने सडकखण्ड मर्मत गरेर केही बेरअघिदेखि आलोपालो यातायात सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाका अनुसार सामान्य वर्षाका कारण राजमार्ग हिलाम्य भएर अवरुद्ध भएको दाउन्ने सडकखण्डमा ग्राभेल राखेर आलोपालो यातायात सञ्चालन गरिएको छ ।
नारायणघाटबाट बुटवलतर्फ जाने गाडी हिलोमा फसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । केही बेरअघिदेखि बुटवलबाट नारायणघाटतर्फ आउने गाडी आइरहेको र पालैपालो यातायात सञ्चालन हुने व्यवस्था मिलाइएको रानाले जानकारी दिएका छन् ।
रानाले भने, 'सामान्य झरीका कारण राजमार्ग चिप्लो भएर आउजाउमा समस्या छ । कच्ची सडकमा ग्राभेल राखेर राजमार्ग सहज बनाइएको हो ।' निर्माणाधीन बुटवल–नारायणघाट सडकअन्तर्गत पर्ने दाउन्ने पहाडको १४ किलोमिटरमध्ये ९ किलोमिटर सडक खण्ड खाल्डैखाल्डा छ ।
राजमार्ग निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौं जाम हुने गरेको छ । पूर्वी नवलपरासीमा बिहान दुई बजेदेखि सामान्य वर्षा भइरहेको छ ।
