उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट घर भई नयाँ बजार बस्दै आएका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे घर भई क्षेत्रपाटी बस्दै आएका २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो ।
काठमाडौँ — २४ भदौमा लुटिएको प्रहरीको पेस्तोल घर लगेर पड्काउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले नुवाकोट घर भई नयाँ बजार बस्दै आएका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रे घर भई क्षेत्रपाटी बस्दै आएका २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, दुवै जनाले पेस्तोल लगेर पड्काएको पाइएको छ । ‘समिरले त नागर्जुन नगरपालिकामा रहेको घरको छतमा बसेर पेस्तोल पड्काएको भिडियोसमेत फेला परेको छ,’ उनले कान्तिपुरसँग भने, ‘दुवै जनाले सोधपुछका क्रममा पेस्तोल पड्काएको स्वीकारेका पनि छन् ।’
उनीहरुबाट ५४ क्यालिबरको पेस्तोल एउटा, खाली म्यागजिन र १२ राउन्ड गोलीसमेत बरामद भएको छ । प्रहरीका अनुसार, सुरुमा इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास सिर्जना गरेको भन्दै सूचना आएपछि प्रहरी खटिएको थियो । पछि उनीहरुको साथबाट हतियार मात्र बरामद भएन, जथाभावी पड्काउँदै हिँडेको भिडियोसमेत भेटियो ।
दुवै जनाविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । पक्राउ परेकामध्ये समिरविरुद्ध यसअघि पनि अभद्र व्यवहारको कसुरमा मुद्दा चलिसकेको पाइएको छ ।
