महाधिवेशनको तालिका ल्याउने सवालमा कांग्रेसको संस्थापन पक्ष सकारात्मक

संस्थापन पक्षको बुधबार ललितपुरस्थित धोबीघाटमा बसेको भेलाले क्रियाशील सदस्यता टुंग्याउनेदेखि तल्लो तहका कमिटीका अधिवेशनका तालिका मंसिरभित्रै ल्याएर केन्द्रको अधिवेशन चुनाव पछाडि गर्नुपर्ने धारणा राखेको छ ।

कार्तिक १२, २०८२

कान्तिपुर संवाददाता

Congress's establishment side is positive on the issue of bringing the general convention schedule.

काठमाडौँ — मंसिरमा महाधिवेशन गर्ने गरी तालिका नै ल्याउन नहुने अडानमा रहेको कांग्रेसको संस्थापन पक्ष केही लचक देखिएको छ । कांग्रेसका दुई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनाव अगाडि नै नियमित वा विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानबाट पछि नहट्ने बताउँदै आएका छन् ।

संस्थापन पक्षको बुधबार ललितपुरस्थित धोबीघाटमा बसेको भेलाले क्रियाशील सदस्यता टुंग्याउनेदेखि तल्लो तहका कमिटीका अधिवेशनका तालिका मंसिरभित्रै ल्याएर केन्द्रको अधिवेशन चुनाव पछाडि गर्नुपर्ने धारणा राखेको छ ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले चुनाव अगाडि मंसिरभित्र क्रियाशील सदस्यताको टुंगो लगाएर चुनाव पछाडि अधिवेशन तोक्दा राम्रो हुने बताएका थिए । कार्यतालिकाका बारेमा संस्थापन पक्षले मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालासँग पनि परामर्श गरिरहेका छन् । कोइरालाले मंसिरमा नियमित महाधिवेशनको तालिका ल्याउने र काम गर्दै जाँदा नभ्याइएमा केही समयका लागि सार्न सकिने उपाय सुझाउँदै आएका छन् ।

भेलामा सहभागी केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी एकताका लागि मध्यमार्गी कुनै उपाय खोज्ने दिशामा छलफल भइरहेको बताए । ‘मुलुकमाथि संकट आएका बेलामा कांग्रेस विभाजित मतका साथ जान हुन्न । एकता भएर जानुपर्छ । त्यसका लागि म तयार छु,’ खड्काको भनाइ उदृत गर्दै खतिवडाले भने,‘समाधानको बाटो कसरी खोज्ने भन्नेबारेमा अहिले सबै पक्षसँग संवाद चलिरहेको छ ।’

कांग्रेसको स्थगित बैठक बिहीबारदेखि सुरु हुँदैछ । 

कान्तिपुर संवाददाता

Link copied successfully