भारतले दशगजा नजिकैबाट बनाएको सीमा सडकले नेपाली बस्ती डुबानमा 

बर्सेनि समस्या थपिने त्रासमा सीमावर्ती क्षेत्रका बाढी प्रभावित स्थानीय 

कार्तिक १२, २०८२

राजेश मिश्र

Nepali settlement submerged by border road built by India near Dashgaja

What you should know

बलरा(लक्ष्मिपुर) — नेपाल–भारत सीमा नजिकै भारत सरकारले निर्माण गरेको सीमा सडकका कारण नेपाली गाउँहरु डुबानमा पर्ने गरेका छन् । गत असोजको तेस्रो साता भएको लगातारको भिषण वर्षापछि आएको बाढीले सर्लाही जिल्लाको बलरा नगरपालिकाको वडा नं १, २ र ३ का शेढ्वा–छन्की, हथिऔल र लक्ष्मिपुर गाउँ करिब ३६ घण्टा डुबानमा पर्‍यो । घर घरमा पानी छिर्‍यो । खेतहरुमा अहिलेसम्म बाढीको पानी छँदैछ ।

स्थानीयहरु यसको कारण भारतले सीमा नजिकै बनाएको ऊँचो सडकलाई दिन्छन् । पानीको निकास रोकिँदा नेपालतर्फका किसानहरु पीडित भएका छन् । कम्तीमा एक हजार घर परिवार यसबाट प्रभावित छन् । सयौं बिघा खेतमा लगाइएका धानबालीलाई क्षति पुगेको छ ।

यहीवर्ष सुख्खाका कारण पीडित बनेका किसानले जेन तेन धानको रोपाइँ गरेका थिए । बाढीले त्यसलाई डुबाउँदा धानबालीलाई ठूलो नोक्सान पुगेको छ । माटो र खपडाले बनेका कतिपयका घरहरु क्षतिग्रस्त भएका छन् । कतिपय किसानले आफ्नो चौपायासमेत गुमाएका छन् । बलरा–३ लक्ष्मिपुरका बिनोदानन्द मिश्रले बाढीका कारण आफ्नो घर गुमाएका छन् ।

१० कट्ठामा लगाएको धान पानीमा डुब्दा धान रोपाइँमा गरेको लगानीसम्म पनि नउठ्ने स्थितिमा पुगेका छन् उनी । घर पुनर्निमाणका लागि राहत पाउने आशा राखेर ३० किलोमिटर टाडा सदरमुकाम मलंगवा पुगेर जिल्ला प्रशासनमा निवेदन दिएका छन् । आफ्नो पालिकामासमेत उनले धाएका छन् । तर, अझैसम्म कतैबाट घर पुनर्निमाणका लागि राहत पाउन नसकेको उनको गुनासो छ । 

अहिले उनी अस्थायी रुपमा टहरामा बसोबास गर्दैछन् । उनले गास र बास दुवै गुमाएका छन् । ‘पहिला बासको व्यवस्था भए थप सोच्थें । सरकारले पुनर्निमाणमा मद्दत गर्छ भन्ने कुरा रेडियोबाट सुन्दै आएको हुँ । प्रहरी मुचुल्कासहित आफैं निवेदन दिएर आएँ, तर अहिलेसम्म केही सुनुवाइ भएको छैन,’ उनले सुनाए, ‘१० कट्ठाबाट १० क्विन्टल धान उत्पादन हुने गर्छ । त्यसले करिब करिब वर्षदिनलाई चामल पुग्थ्यो । तर, खेत हेर्नुस् अझैसम्म पनि डुबेका छन् ।’ 

Nepali settlement submerged by border road built by India near Dashgaja

साना किसान समूहमा वा निम्न वर्गीय समूहमा पर्नेहरु ठूलो मारमा परेको उनी बताउँछन् । यही गाउँका भरोसी मिश्रको व्यथा कम पीडादायी छैन । भर्खर व्याएको दुहनो भैंसी उनले बाढीमा गुमाए । दूध बेचेर उनलाई गुजारा टार्न सहयोग पुग्थ्यो । बाढीका कारण लागेको रोगले भैंसीको मृत्यू भएको उनी बताउँछन् । ‘सबैतिर पानी नै पानी थियो, घर डुबेको थियो । ब्याएको भैंसीलाई आवश्यक सेवा नै गर्न सकिएन । बाढी आएको २–३ दिन पछाडी भैंसी गुम्यो,’ उनले भने, ‘खेतीको त कुरै नगर्नुस् । त्यसको पीडा सबैलाई छ । मैले रोपेको धान हेर्दा रुन मन लाग्छ । केही बाँकी छैन । त्यसमाथि भैंसी गुमाए ।’

गतवर्ष १० असोजमा आएको बाढीमा पनि अहिले डुबेका गाउँहरु डुबानमा परेका थिए । तर, यसवर्ष अघिल्लो पटकको भन्दा पनि बढी पानी रहेको स्थानीयहरु बताउँछन् । यसवर्ष १९ असोजमा बाढी आएको थियो । बागमती नदी नजिकै छ । पहिला वर्षामा बाढीको पानी तुरुन्तै निकास भएर जाने गरेकोमा दुई वर्षदेखि लामो अवधिसम्म डुबान हुन थालेको स्थानीय कृषक कपिलदेव राम भन्छन् ।

‘भारतले बनाएको सडक अत्यन्तै ऊँचो छ, हामी सीमामा छौं । सीमा नजिकै त्यो सडक छ । ऊँचो मात्रै छैन, बलियो पनि छ,’ उनले सुनाए, ‘त्यसले पानीको प्राकृतिक बहावलाई रोक्छ । बाढीको पानी थामिन पुग्दा एक दुई घण्टा होइन, दुई दिनसम्म सबैको घर घरमा पानी थियो । अपवादका केही घरमा मात्रै पानी प्रवेश गरेन होला । तर, उनीहरुको पनि आँगन डुबेका थिए ।’

लामो अवधिसम्म पानीको निकास नहुँदा सबैभन्दा बढी क्षति किसानलाई भएको उनी बताउँछन् । ‘धान खेत डुब्यो । काट्ने बेला नजिकिँदै थियो, यहीबेला भएको डुबानले किसान नराम्ररी मारमा परेका छन्,’ उनले भने, ‘मैले १४ कट्ठामा लगाएको धानबाट उत्पादन शून्य हुने स्थितिमा पुगेको छ ।’ प्रतिकट्ठा एक क्विन्टलसम्म धान उत्पादन हुने गरेकोमा खेतहरु डुबानमा पर्दा धानबाली नै गलेको र कुहिन पुगेको उनले बताए । 

Nepali settlement submerged by border road built by India near Dashgaja

भारतले दुई देशको सीमा छुट्याउने दशगजाबाट २ सय मिटर आसपासको दूरीमा सीमा सडक बनाएको छ । त्यसलाई सैनिक सडक पनि भनिन्छ । नेपालसँगको सीमामा खटिएका भारतीय सशस्त्र सीमा बल(एसएसबी)लाई जुनसुकै मौसममा गस्ती गर्न सजिलो होस् भन्ने उद्देश्यले भारतले पूर्वदेखि पश्चिमसम्म सिमाना नजिकैबाट सडकको निर्माण थालेको छ । कतै निर्माण पूरा भएको छ । कतै हुने क्रममा छ । 

बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएका क्षेत्रमा उक्त सडकको निर्माण भइरहेको छ । यसको थालनी सन् २०१० बाट गरिएको हो । 

जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह सर्लाहीसँग जोडिएको भारतको सिमानामा करिब–करिब भारतीय सीमा सडक निर्माण भइसकेको बताउँछन् । त्यसले गतवर्षदेखि बाढी र डुबानको समस्या बढाएको उनले बताए । उनी स्वयं बाढीबाट अति प्रभावित हथियौलका बासिन्दा हुन् । दीर्घकालीन रूपमा सिंगो जिल्लाका बाढी प्रभावित हुने क्षेत्रमा ठूलो समस्या पैदा भएको उनले उल्लेख गरे । 

सदरमुकाम मलंगवा पनि त्यसको मारमा पर्न थालेको उनको भनाइ छ । यसवर्ष पानीको बहाव रोकिँदा सदरमुकामसँगैको सीमावर्ती क्षेत्रमा अस्वभाविक पानी देखियो । पानीको निकासमा भएको समस्याले सदरमुकाममा रहेको अन्तर्राष्ट्रिय नाका नै कयौं दिन अवरोध रह्यो,’ उनले भने, ‘बागमती, मनुष्मारा, लखन्देही वा झीम नदीमा आएका बाढीको निकास रोकिने स्थिति भएको छ । त्यसले डुबानको समस्या अझ बढ्दै जाने देखिएको छ ।’

बागमतीबाट प्रभावित हुने क्षेत्र तीन दशक पूरानो स्थितिमा फर्किएको उनले सुनाए । विगतमा नेपालपट्टी बागमती किनारमा तटबन्ध थिएन । सजिलै बाढी आउँथ्यो । भारतमा बागमती नदी नियन्त्रण परियोजनाले सीमा नजिकै बनाएको तटबन्धले पानीलाई रोक्थ्यो । जिल्लाको पश्चिमी गाउँहरु डुबानमा पर्थे । वर्षैपिच्छेको समस्या थियो । वि.स २०५० सालमा बागमती नदीमा आएको विनाशकारी बाढीले भारतीय तटबन्धलाई ठाउँ ठाउँमा तोडेको थियो । 

त्यसले सीमापारीका गाउँहरुमा पनि ठूलो धनजनको क्षति पुर्‍याएको थियो । बाढीले भत्काएको तटबन्ध तीन दशकसम्म बनाइएको थिएन । त्यसले पानीको निकासमा सहजता थियो । अर्कोतिर, भारत सरकारकै सहयोगमा रौतहट र सर्लाही दुबैतिर बागमती किनारमा नदी नियन्त्रणका लागि तटबन्धको निर्माण गरियो । 

Nepali settlement submerged by border road built by India near Dashgaja

‘सर्लाहीमा कर्मैयादेखि दक्षिण तल भारतीय सीमासम्म तटबन्ध निर्माण कार्य एक दशक अगाडि नै पूरा भएको थियो । त्यसले बाढीलाई नियन्त्रण गर्न सघाएको थियो । अर्कोतिर बाढी आए पनि सीमा पारीको तटबन्ध भत्किएकाले पानीको निकासमा समस्या थिएन,’ सिंहले भने, ‘अहिले स्थिति फेरिएको छ । सैनिक वा सीमा सडकका नाममा भारतले सीमामा बलियो र ऊँचो तटबन्ध बनाएको छ । पानीको निकासलाई थोरै स्थानमा नियन्त्रित गेट बनाइएको छ । भारतीय सुरक्षाकर्मीले चाहेको स्थितिमा मात्रै ति गेट खोलिदिन्छन् ।’ 

भारतले सन् १९७५ मा बागमती नियन्त्रणका लागि तटबन्ध बनाएपछि त्यसपछिका १८ वर्षसम्म यी क्षेत्र डुबनामा रहने गर्थ्यो । अहिले पुनः त्यही पूरानो स्थिति दोहिरन थालेको मिर्जापुरका शशिभुषण कुशवाहाले सुनाए । अन्तर्राष्ट्रिय मान्यता विपरीत भारतले सीमा नजिकैबाट तटबन्ध निर्माण गरिरहँदा यतिका वर्षसम्म नेपाल सरकारले त्यसप्रति बलियो गरी आपत्ति जनाएको नसुन्दा आफ्नो नागरिकप्रति गैरजिम्मेवारीपन देखिएको उनले असन्तुष्टि पोखे । 

कुनै पनि देशले अर्को राज्यलाई क्षति पुग्ने गरी आफ्नो सीमा भित्र वा सीमा क्षेत्रमा तटबन्ध लगायतका संरचना बनाउन नपाउने संयुक्त राष्ट्र संघको नदी र पानीको प्रयोग सम्बन्धी अन्तर्राष्ट्रिय नियममा छ । त्यस्तो तटबन्धले नदीले दिशा परिवर्तन गर्ने, छिमेकी देशको बस्ती वा खेतमा बाढीलाई रोक्ने वा पानी जान नदिने स्थितिलाई अन्तर्राष्ट्रिय कानुनको उल्लघंन मानिएको छ । त्यस्तो निर्माण गर्नु अगाडि छिमेकी देशलाई जानकारी दिनुपर्ने परमार्श गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम छ । 

Nepali settlement submerged by border road built by India near Dashgaja

स्थानीयहरुले सैनिक सडकका नामले चिन्ने भारतद्वारा बनाइएको सीमा सडक ऊँचो र फराकिलो छ । कालोपत्रे गरिएको छ । सीमा छेउबाट गुज्रिने यो सडकले एक ठाउँबाट अर्को ठाउँमा पुग्नलाई सहजता प्रदान गरे पनि यसले बर्सेनि नेपाल क्षेत्रमा पुर्‍याउने विनाशको स्थितिबाट स्थानीयहरु त्रसित छन् । लगातार दुई वर्ष भयो डुबान भएको । समाधानको बाटो खोजिएन भने धेरैको उठिबास हुने स्थिति आउने त्रास स्थानीयमा  देखिन्छ । 

जिल्ला समन्वय समितिका सभापति सिंह नेपालतर्फ बागमती नदी नियन्त्रणका लागि चुरे क्षेत्रदेखि भारतीय सीमासम्म तटबन्ध निर्माण भएको बताउँछन् । तर, नेपाल तर्फको तटबन्ध सकिएको दशगजा क्षेत्रबाट भारतीय भूमिमा ३ किलोमिटर जति तटबन्ध नरहेकाले त्यताबाट भारतीय गाउँ रुसुलपुर र ननकार हुँदै बाढी नेपाली भूमिमा आउने गरेको सिंहले बताए । भारतीय गाउँ रुसुलपुरको जमला टोलबाट पानी उल्टो दिशाबाट नेपालमा आउन थालेको स्थानीय हरिहर मिश्रले बताए ।

त्यो बाढी भारतले बनाएको सीमा सडकले रोकिन पुग्दा समस्या बढेको उनले उल्लेख गरे । नेपालतर्फ बागमती नदी नियन्त्रणका लागि बनाइएको तटबन्धलाई दशगजा हुँदै पारी पहिलेदेखि बनेको तटबन्धसम्म जोडिनुपर्ने र त्यसका लागि नेपाल सरकारले भारतलाई आग्रह गर्नुपर्ने उनको सुझाव छ । अर्को सीमा नजिकै बनाइएको सडकका कारण पानीको बहाव रोकिने विषयमा पनि भारत सरकारसँग नेपालको गम्भिर पहलकदमीको आवश्यकता रहेको उनले उल्लेख गरे । 

Nepali settlement submerged by border road built by India near Dashgaja

छिमेकीले सीमा क्षेत्रमा बनाएको एकतर्फी संरचना जसले अर्को छिमेकीलाई प्रभावित बनाउँछ भने त्यसलाई एकतर्फी कदम भनेर अन्तर्राष्ट्रिय कानुन अनुसार नेपालले आपत्ति जनाउन सक्छ । सीमा क्षेत्रमा भारततर्फ बनाइएका संरचनाका कारण हुने गरेको डुबानका समस्या द्विपक्षीय बैठकका एजेन्डा बन्दै आएपनि यसमा परिणाममुखी छलफल भने भएको पाइँदैन । भारतका लागि पूर्व नेपाली राजदूत निलाम्बर आचार्य काठमाडौं र दिल्लीबीच बाढी र डुबानका मुद्दामा हरेक जसो बैठकमा छलफल हुने गरे पनि समाधानमुखी निष्कर्षमा नआउने गरेको बताउँछन् । 

‘विभिन्न तहका द्विपक्षीय संयन्त्रहरु पनि बनाइएको छ । राजनीतिक तहमा पनि कुरा हुन्छन् । हाम्रो सरोकार बोर्डर क्षेत्रमा बनाइएका संरचना र त्यसले नेपालमा गर्ने डुबानको विषय हुन्छ । उनीहरु नदीमा नेपालले पानी छाड्ने गरेको विषयलाई जोड दिन्छन्,’ उनले सुनाए, ‘समाधान निकाल्न संयन्त्रहरुलाई जिम्मा पनि दिइन्छ । तर कहिल्यै समाधान आउँदैन ।’

Nepali settlement submerged by border road built by India near Dashgaja

सीमा नजिकै रणनीतिक रुपमा भारतले संरचनाको निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लघंन रहेको उनी बताउँछन् । नेपाल सरकारले आफ्ना जनता र सीमावर्ती बाढी प्रभावित क्षेत्रमा त्यहाँका मानिस, खेतीपातीको सुरक्षा चासोमा काम गर्नुपर्ने उनको भनाइ छ । ‘भारतले बनाएको संरचनाका कारण डुबान भयो भनेर मात्रै हुँदैन आफ्ना जनताका लागि नेपाल सरकारले के गरिरहेको छ ? कस्तो प्रयास गरेको छ ? सुरक्षित राख्न कस्तो योजना बनाएको छ ? त्यो महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘भारतसँग आफ्ना कुरा राखिरहने एउटा कुरा भयो । त्यसबाहेक आफ्ना जनतालाई सुरक्षित पार्ने दायित्व नेपाल सरकारको हो । योजनाबद्ध कामहरु गरिनुपर्छ । नकी भारतका कारण हो भन्दै छाडिदिने ।’

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully