जिल्ला प्रशासन कार्यालय बारा कलैयामा बुधबार सरोकारवालासँगको छलफलमा उनले भदौ २३ को जेन-जी आन्दोलन र २४ को प्रदर्शनका क्रममा भएका आपराधिक घटनाको अनुसन्धान गर्न सरकारलाई आग्रह गर्ने बताएका हुन् ।
What you should know
बारा — भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आपराधिक घटनाबारे अनुसन्धान र कारबाही गर्न आफूले गृह मन्त्रालय र सरकारलाई भन्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बारा कलैयामा बुधबार सरोकारवालासँगको छलफलमा उनले भदौ २३ को जेन-जी आन्दोलन र २४ को प्रदर्शनका क्रममा भएका आपराधिक घटनाको अनुसन्धान गर्न सरकारलाई आग्रह गर्ने बताएका हुन् । जिल्ला दौडाहामा रहेका आयोगका अध्यक्ष कार्कीले भने, `आपराधिक कसुरबारे फौजदारी कानुनअन्तर्गत अनुसन्धान गर्न आयोगको आदेश कुर्नु पर्दैन । प्रमाण भए अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गर्दा हुन्छ । यो कानुनी व्यवस्था नै हो ।
प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न सक्ने उनको भनाइ छ । `आयोगले प्रहरीलाई पत्राचार गरिसकेको छ,' उनले भने, `आपराधिक कसुरमा प्रत्यक्ष संलग्न भएको प्रमाण (भिडियाेलगायत) भएमा प्रहरीले घटनाको अनुसन्धान गर्न पाउँछ । पोलुवा आधारमा होइन कि प्रत्यक्ष संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन् ।´ आयोगले पनि आफ्नो प्रतिवेदन सरकारलाई दिने नै उनले बताए ।
छलफलमा पीडितहरूले प्रहरीसमक्ष जाहेरी दिए पनि अनुसन्धान नगरेको गुनासो गरेका थिए । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, भदौ २४ मा भएको आगजनी, तोडफोडबाट पीडित पूर्वसांसदहरू, पालिकाका जनप्रतिनिधिहरूसमेत थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले २८ जनाविरुद्ध किटानी जाहेरी दिएको बताए । भदौ २४ मा जिल्लाका दर्जनौं सरकारी कार्यालय, पूर्वसांसद, पार्टी कार्यालयमा आगजनी, तोडफोड भएको थियो ।
कार्यक्रममा पूर्वसांसद किसान श्रेष्ठले घटना अनुसन्धान हुनुपर्ने माग गरे ।
